अत्तरिया : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले आज (बुधबार) प्रदेश सभामा विश्वासको मत मागेका थिए।
भट्टको पक्षमा ३१ सांसदले मतदान गरेका छन् भने विपक्षमा १५ मत परेको छ। भट्टलाई नेकपा एमालेका ११ र नेकपाका २० सांसदले समर्थन गरेका हुन्।
नेकपाका तर्फबाट साविक नेकपा माओवादी केन्द्रका सभामुखबाहेक १० जना, साविक नागरिक उन्मुक्ति पार्टीका ७ जना तथा साविक नेकपा एकीकृत समाजवादीका निलम्बित सांसदबाहेक ३ जनाले भट्टको पक्षमा मतदान गरेका छन्।
यस्तै, मुख्यमन्त्री भट्टको विपक्षमा नेपाली कांग्रेसका १७ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १ सांसदले मतदान गरेका छन्। ५१ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा हाल ४९ जना सांसदको मताधिकार कायम रहेको छ। डडेल्धुराबाट निर्वाचित तारा जोशीले राजीनामा दिएर प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका कारण उनको पद रिक्त छ। यस्तै, कैलालीबाट निर्वाचित प्रकाश देउवाको पद पनि रिक्त रहेको छ भने कैलालीकै अर्का सांसद दीर्घ सोडारी निलम्बित छन्।
प्रदेश सभाको अंकगणितमा आफ्नो पक्षमा स्पष्ट बहुमत जुटाउँदै मुख्यमन्त्री भट्टले सरकार सञ्चालनका लागि राजनीतिक वैधता थप बलियो बनाएका छन्। विश्वासको मतसँगै भट्ट नेतृत्वको प्रदेश सरकारलाई आगामी दिनमा प्रदेशका विकास, सुशासन तथा राजनीतिक स्थायित्वका विषयमा प्रभावकारी काम गर्ने चुनौतीसमेत थपिएको छ।