दुर्गालक्ष्मी नमुना माविमा स्टिम ल्याब उद्घाटन
विद्यार्थीका सिर्जनशील रोबोट तथा प्रविधिजन्य सामग्री प्रदर्शन
अत्तरिया : कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयमा विद्यार्थीमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (स्टिम) प्रतिको रुचि तथा सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले स्थापना गरिएको स्टिम ल्याब उद्घाटन गरिएको छ।
कक्षा १२ का विद्यार्थी सक्षम उपाध्यायको सभापतित्वमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि दत्त भट्टराईले स्टिम ल्याबको उद्घाटन गरेका हुन्।
ल्याब उद्घाटनका क्रममा विद्यालयका विद्यार्थीहरूले आफ्नै सिर्जनशीलता र सीप प्रयोग गरी निर्माण गरेका विभिन्न स्टिममा आधारित रोबोट तथा प्रविधिजन्य सामग्री प्रदर्शन गरेका थिए। विद्यार्थीहरूले तयार पारेका सामग्रीमार्फत उनीहरूले विज्ञान तथा प्रविधिको प्रयोगात्मक ज्ञानसँगै नयाँ प्रविधि निर्माण र प्रयोगमा आफ्नो क्षमता प्रस्तुत गरेका थिए।
स्टिम ल्याबले विद्यार्थीलाई पुस्तकमा सीमित सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक अभ्याससँग जोड्दै समस्या समाधान, अनुसन्धान, नवप्रवर्तन र सिर्जनशील सोचको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। ल्याबमार्फत विद्यार्थीलाई प्रविधिको प्रयोग गर्दै नयाँ सामग्री तथा प्रविधि निर्माणका लागि प्रोत्साहित गर्ने विद्यालयको उद्देश्य रहेको छ।
कार्यक्रममा विद्यार्थीहरूले प्रदर्शन गरेका रोबोट तथा अन्य प्रविधिजन्य सामग्रीले उनीहरूमा प्रविधिप्रतिको बढ्दो आकर्षण र सिर्जनात्मक क्षमताको झल्को दिएको थियो। विद्यालयमा स्टिमसम्बन्धी प्रयोगात्मक सिकाइको वातावरण तयार भएसँगै विद्यार्थीले भविष्यमा विज्ञान तथा प्रविधिको क्षेत्रमा थप नयाँ काम गर्न सक्ने अपेक्षा गरिएको छ।