अत्तरिया : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३\८४ को बजेट बुधबार प्रदेशसभामा प्रस्तुत गर्ने तयारी गरे पनि अन्तिम समयमा अन्योल सिर्जना भएको छ । बजेट प्रस्तुत गर्नका लागि प्रदेशसभा बैठक बुधबार साँझ ५ बजेका लागि बोलाइएको थियो ।
लामो समयदेखि बजेटविहीन रहेको प्रदेश सरकारले करिब ८१ दिनपछि बजेट ल्याउने तयारी गरेको थियो । मंगलबार बसेको प्रदेशसभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले समेत बुधबार बजेट प्रस्तुत गर्ने कार्यतालिका तय गरेको थियो ।
यसैबीच सर्वोच्च अदालतले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सुदूरपश्चिम प्रदेशसमेतलाई विपक्षी बनाइएको मुद्दामा आदेश जारी गरेको छ । आदेशमा विपक्षीबाट लिखित जवाफ माग गर्दै अन्तरिम आदेशको विषयमा दुवै पक्षलाई राखेर छलफल गर्ने गरी पेशी तोकिएको छ ।
तर, सर्वोच्चको आदेशमा बजेट प्रस्तुत नगर्नू वा बजेट रोक्नू भन्ने स्पष्ट निर्देशन भने छैन । त्यसैले बजेट प्रस्तुत हुन नसक्नुको प्रत्यक्ष कारण अदालतको आदेश नै हो वा सरकारको आन्तरिक कारण, त्यो अझै स्पष्ट भइसकेको छैन ।
बजेट प्रस्तुत हुन नसकेपछि लामो समयदेखि बजेट शून्यताको अवस्थामा रहेको सुदूरपश्चिम सरकार थप अन्योलमा परेको छ । यसअघि बजेट पारित हुन नसक्दा प्रदेश सरकारका नियमित खर्च, कर्मचारीको पारिश्रमिक तथा विकास निर्माणका कामसमेत प्रभावित हुँदै आएका छन् ।