बाजुरा : बाजुरामा अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला सदरमुकाम जोड्ने साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ । शनिबार राति लगातार परेको वर्षाका कारण बडीमालिका नगरपालिका–९ स्थित कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाड, सुवाकाँध लगायतका स्थानमा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।
यस्तै बडीमालिका नगरपालिका–८ को राप्का र वडा नं. ६ को जडाङ्गालगायतका स्थानमा समेत पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गगनसिंह भाटले जानकारी दिए ।
प्रहरी टोलीले बडीमालिका नगरपालिका र सडक विभागको जेसीबीको प्रयोग गरी पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने पहल गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । लगातार वर्षा भइरहेकाले सडकका अन्य स्थानमा समेत पहिरो खस्ने जोखिम रहेको छ ।
पहिरोका कारण सडक अवरुद्ध भएपछि साँफे–मार्तडी सडकखण्डमा आवतजावत प्रभावित भएको छ भने गन्तव्य स्थानतर्फ जाने सवारी साधनहरु बाटोमै रोकिएका छन् ।