अत्तरिया बसपार्कमा अनुगमन : स्तरोन्नतिका लागि प्रदेश सरकारले बजेट सुनिश्चित गर्ने

अत्तरिया  : सुदूरपश्चिम प्रदेशको प्रमुख ट्रान्जिट प्वाइन्टका रूपमा रहेको अत्तरिया बसपार्कलाई व्यवस्थित तथा सुविधासम्पन्न बनाउन स्थलगत अनुगमन गरिएको छ । गोदावरी नगरपालिका नगर प्रमुख वीरेन्द्र भट्टको पहलमा गरिएको अनुगमनमा प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री ओमविक्रम भाट, पूर्वमन्त्री तथा नेकपा एमालेका नेता लेखराज भट्ट, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय व्यवसायी तथा सरोकारवालाको सहभागिता थियो ।

अनुगमनका क्रममा बसपार्क क्षेत्रमा देखिएको अव्यवस्था, वर्षायाममा हुने हिलाम्मे, पानी जम्ने समस्या तथा यात्रु र सवारीसाधनको आवागमनमा भइरहेको कठिनाइबारे छलफल गरिएको थियो । अत्तरिया हुँदै सुदूरपश्चिमका विभिन्न जिल्लामा आवतजावत गर्ने दैनिक हजारौँ यात्रुले बसपार्कको अव्यवस्थित अवस्थाका कारण समस्या भोग्दै आएका छन् ।

भौतिक पूर्वाधार विकास मन्त्री ओमविक्रम भाटले अत्तरिया बसपार्कको समस्या समाधानका लागि प्रदेश सरकार गम्भीर रहेको बताए । उनले बसपार्क सुदूरपश्चिम प्रवेश गर्ने महत्वपूर्ण केन्द्र भएकाले यसको पूर्वाधार विकास र व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए ।

“अत्तरिया बसपार्क सुदूरपश्चिम प्रवेश गर्ने महत्वपूर्ण केन्द्र हो । यहाँको हिलाम्मे, अव्यवस्था तथा पूर्वाधार अभावको समस्या समाधान गर्न आवश्यक योजना बनाएर काम अगाडि बढाउनुपर्छ,” मन्त्री भाटले भने, “यसका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक बजेटको सुनिश्चितता गर्ने विषयमा पहल गर्छु । नगरपालिकासँग समन्वय गरेर बसपार्कलाई व्यवस्थित र सुविधासम्पन्न बनाउने गरी अघि बढ्छौँ ।”
मन्त्री भाटले बजेट सुनिश्चितताका लागि पहल गर्ने आश्वासन दिएपछि स्थानीय व्यवसायी तथा सरोकारवालाले बसपार्कको दीर्घकालीन व्यवस्थापन र स्तरोन्नतिका लागि अब ठोस काम अघि बढ्ने अपेक्षा गरेका छन् ।

अनुगमनपछि गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले अत्तरिया बसपार्क गोदावरी नगरपालिकाको मात्र नभई सुदूरपश्चिम प्रदेशकै महत्वपूर्ण यातायात केन्द्र भएकाले यसको व्यवस्थित विकास आवश्यक रहेको बताए ।

“अत्तरिया बसपार्क केवल गोदावरी नगरपालिकाको मात्र नभई सुदूरपश्चिम प्रदेशकै प्रमुख ट्रान्जिट प्वाइन्ट हो । यहाँ वर्षायाममा हिलाम्मे हुने, पानी जम्ने र यात्रु तथा व्यवसायीहरूले समस्या भोग्ने अवस्था अब लामो समयसम्म रहनु हुँदैन,” नगर प्रमुख भट्टले भने ।
उनले अनुगमनबाट पहिचान भएका समस्या समाधानका लागि प्रदेश सरकार, सम्बन्धित निकाय र सरोकारवालासँग समन्वय गरेर काम अगाडि बढाइने बताए । बसपार्कलाई व्यवस्थित, सुरक्षित र यात्रुमैत्री बनाउन नगरपालिकाले आवश्यक पहल गरिरहेको उनको भनाइ छ ।

नगर प्रमुख भट्टले प्रदेश सरकारसँग सहकार्य गरी बसपार्कको दीर्घकालीन व्यवस्थापन तथा पूर्वाधार विकासका लागि ठोस योजना अघि बढाउने बताए । स्थानीय व्यवसायी तथा सरोकारवालाले भने वर्षायाममा बसपार्क क्षेत्रमा हुने हिलाम्मे र पानी जम्ने समस्या तत्काल समाधान गर्नुपर्ने माग गरेका छन् । उनीहरूले यात्रु, व्यवसायी र सवारीसाधनको सहज आवागमनका लागि बसपार्कको भौतिक पूर्वाधार सुधारसँगै दीर्घकालीन व्यवस्थापनको आवश्यकता औँल्याएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.