धनगढी : धनगढीमा अटो र मोटरसाइकल आपसमा ठोक्किँदा मृत्यु भएका किशोरको पहिचान खुलेको छ। प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा कञ्चनपुरको पुनर्वास नगरपालिका–८ ‘क’ गाउँका विशाल गोतामेका १४ वर्षीय छोरा क्रिस गोतामे रहेका छन्।
आइतबार दिउँसो करिब ३ः५० बजे धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा बाटो क्रस गर्ने क्रममा अटोले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
धनगढी–२ आदर्श टोलका १८ वर्षीय अंकित गुप्ताले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००२ स ६११ नम्बरको अटोले चौराहाबाट भन्सारतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००८ प ५९५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
दुर्घटनामा मोटरसाइकल चालक कैलालीको घोडाघोडी नगरपालिका–८ का २२ वर्षीय दिनेश थापा घाइते भएका छन्। उनको दुवै खुट्टा र दाहिने हातमा चोट लागेको छ। प्रहरीले उनको अवस्था मध्यम रहेको जनाएको छ। घाइते थापाको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि अटो चालक अंकित गुप्ता प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।