अत्तरियामा निःशुल्क कपडा वितरण केन्द्र सञ्चालन

निःशुल्क कपडा वितरण केन्द्र स्थापना दीर्घकालीन लक्ष्य राखिएको छ

अत्तरिया:- कैलालीको अत्तरियामा मष्टा धाम निःशुल्क कपडा वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ। गोदावरी नगरपालिका वडा नं ४ बन्दगडा स्थित मष्टा धाम व्यवस्थापन समितिले विपन्न तथा असहाय परिवारलाई सहयोग गर्ने उद्देश्यले अत्तरियामा स्थापना गरेको केन्द्रको बिहीबार बाल ब्रह्मचारी लोमस गिरी महाराजले उद्घाटन गरेका हुन्।

मष्टा धाम व्यवस्थापन समितिका अध्यक्ष गणेश जिमी साउँदले निःशुल्क कपडा वितरण केन्द्र स्थापना दीर्घकालीन लक्ष्य रहेको बताउँदै घरमा थन्किएका सफा तथा प्रयोग योग्य कपडा संकलन गरी आवश्यकतामा रहेका नागरिकलाई निःशुल्क वितरण गरिने जानकारी दिए। केन्द्रले आर्थिक रूपमा विपन्न परिवार, ज्येष्ठ नागरिक, बालबालिका तथा असहाय व्यक्तिलाई प्राथमिकतामा राखेर कपडा उपलब्ध गराउने बताए । प्रयोगमा नआएका तर सफा र पुनःप्रयोग गर्न मिल्ने कपडा भएका सहयोगी मन भएका व्यक्ति तथा समुदायलाई केन्द्रमा कपडा उपलब्ध गराउन आग्रह गरेको छ। प्राप्त कपडालाई आवश्यकता र उपयोगिताका आधारमा वर्गीकरण गरी सम्बन्धित व्यक्तिलाई निःशुल्क वितरण गरिने समितिले जनाएको छ। अध्यक्ष साउँदका अनुसार केन्द्र स्थापनाको उद्देश्य एकातर्फ आवश्यकतामा रहेका परिवारलाई सहयोग पुर्‍याउनु र अर्कोतर्फ प्रयोगयोग्य कपडाको पुनःसदुपयोग मार्फत वातावरण संरक्षणमा योगदान गर्नु रहेको बताएका छन्।

मष्टा धाम व्यवस्थापन समितिले आगामी दिनमा केन्द्रको सेवा थप विस्तार गर्दै बढीभन्दा बढी विपन्न परिवारसम्म पुग्ने, नियमित रूपमा कपडा संकलन तथा वितरण गर्ने र सामाजिक सेवामा समुदायको सहभागिता बढाउने लक्ष्य लिएको जनाएको छ। प्रयोगयोग्य कपडा फ्याँक्नुको सट्टा आवश्यकतामा रहेका व्यक्तिलाई सहयोग गरौँ” भन्ने सामाजिक सन्देशसहित केन्द्रले समुदायमा सहयोग, सहकार्य र मानवीय सेवाको भावना विकास गर्ने अपेक्षा गरिएको छ। हाल सम्म केन्द्रमा  ७ सय थान भन्दा बढी कपडा सहयाेग गरिसकेको जानकारी दिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.