सुदूरपश्चिममा अविरल वर्षा, पहाडी जिल्लामा यातायात सञ्चालनमा रोक

अत्तरिया  : सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा लगातार वर्षासँगै बाढीपहिरोको जोखिम बढेपछि पाँच जिल्लामा सार्वजनिक सवारी साधनको आवागमनमा पूर्ण रोक लगाइएको छ।

डडेल्धुरा, दार्चुला, डोटी, बैतडी र बाजुरा जिल्ला प्रशासन कार्यालयले छुट्टाछुट्टै सूचना जारी गर्दै आज बिहानदेखि भोलि आईतबार बिहानसम्म लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएका हुन्।

सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले पछिल्लो मौसमी जोखिम सूचना, भारी वर्षाको पूर्वानुमान तथा जिल्लामा भइरहेको निरन्तर वर्षालाई मध्यनजर गर्दै सवारी आवागमन बन्द गरिएको जनाएका छन्।

बाजुरा जिल्ला प्रशासन कार्यालयले शुक्रबारदेखि लगातार वर्षा भइरहेको र पछिल्लो मौसमी अपडेटमा बाजुरा अति जोखिमयुक्त जिल्लाको सूचीमा परेकाले जिल्लाभर सवारी साधन सञ्चालनमा रोक लगाइएको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी डारेन्द्र निरौलाका अनुसार भोलि असोज ११ गते बिहान ७ बजेसम्म आकस्मिक अवस्थाबाहेक कुनै पनि सवारी साधन सञ्चालन नगर्न अनुरोध गरिएको छ। लगातारको वर्षापछि सम्भावित विपद्जन्य घटना हुन सक्ने भएकाले जिल्लास्थित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनालाई उच्च सतर्कतामा राखिएको उनले बताए।

बाजुरा प्रशासनले विपद्को अवस्थामा खटिने कर्मचारी, स्वयंसेवक, उद्धार टोली तथा आवश्यक उपकरण तयारी अवस्थामा राख्न जिल्लाका नौवटै स्थानीय तहलाई निर्देशन दिएको छ। प्रशासन, सुरक्षा निकाय तथा स्थानीय तहले बाढीपहिरोको जोखिम बढेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

जिल्ला प्रशासन कार्यालयका अनुसार शुक्रबारदेखि भइरहेको निरन्तर वर्षाका कारण बाजुराको जनजीवन प्रभावित भएको छ। प्रशासनले जारी गरेको ‘विपद् प्रतिकार्य योजना–२०८३’ अनुसार जिल्लाका एक सय ५० भन्दा बढी गाउँ तथा नौवटै स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा रहेका छन्।

डडेल्धुरा जिल्ला प्रशासन कार्यालयले पनि आज बिहान ७ बजेदेखि भोलि बिहान ७ बजेसम्म जिल्लाभर लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाएको छ। दार्चुलामा आजदेखि भोलि बिहान ६ बजेसम्म, डोटी र बैतडीमा आज बिहान ७ बजेदेखि भोलि बिहान ७ बजेसम्म सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको सम्बन्धित प्रशासन कार्यालयले जनाएका छन्। भिमदत्त मार्ग

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.