धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले जापानीज इन्सेफलाइटिसविरुद्धको खोप लगाएका छन् । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पुगेर मुख्यमन्त्री भट्ट र उनकी श्रीमती मञ्जु बमले जापानीज इन्सेफलाइटिसविरुद्धको खोप लगाएका हुन् ।
जापानीज इन्सेफलाइटिसबाट सुरक्षित रहन धनगढी उपमहानगरपालिकाका १९ वटै वडाका ३० वर्षमाथिका नागरिकलाई खोप लगाउन अभियान सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालय कैलालीले ३० वर्षमाथिका सबै नागरिकलाई नजिकैको खोप केन्द्रमा पुगेर अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार जापानीज इन्सेफलाइटिसबाट जोगिन खोप महत्वपूर्ण भएकाले लक्षित उमेर समूहका सबै नागरिकलाई अभियानमा सहभागी हुन आग्रह गरिएको छ ।
कैलालीमा जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप अभियान अन्तर्गत हालसम्म ७१ हजार ५५४ जनाले खोप लगाएका छन् । स्वास्थ्य कार्यालय कैलालीको असोज ९ गतेको दैनिक प्रतिवेदनअनुसार जिल्लामा आज मात्रै ८ हजार १२ जनाले जेई खोप लगाएका छन् । आज खोप लगाउनेमा २ हजार ८२१ पुरुष र ५ हजार ११९ महिला रहेका छन् ।
जिल्लाको कुल लक्षित जनसंख्या १ लाख ७६ हजार ३४४ रहेकोमा हालसम्म ४०.५७ प्रतिशतले खोप लगाइसकेको स्वास्थ्य कार्यालय कैलालीका फोकल पर्सन सूर्यबहादुर बिष्टले जानकारी दिए ।
उनले घोडाघोडी र लम्कीचुहा नगरपालिकामा छुटेका व्यक्तिहरूलाई जेई खोप लगाउने कामलाई पनि निरन्तरता दिएको बताए । स्थानीय तहअनुसार हालसम्मको खोप कभरेज घोडाघोडी नगरपालिकामा ८७.०१ प्रतिशत, लम्कीचुहा नगरपालिकामा ६९.२३ प्रतिशत र धनगढी उपमहानगरपालिकामा १४.४५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।