सुदूरपश्चिम राजधानी घोषणाको आठ वर्षमा पनि घोषणामा नै सीमित

अत्तरिया  : आजभन्दा ठिक आठ वर्षअघि वि.सं. २०७५ साल असोज १२ गते बसेको प्रदेश सभाको ४६ औं बैठकले सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिका–२ र ४ स्थित गोदावरी क्षेत्रमा बनाउने निर्णय गरेको थियो । । गोदावरीमा राजधानी निर्माणका लागि पटकपटक बजेट विनियोजन समेत गरेको प्रदेश सरकारले केहि पनि काम गर्न सकेको छैन ।

अस्थायी राजधानी धनगढीबाटै प्रदेश सरकारको कामकारबाही सञ्चालन हुँदै आएको छ । ती अस्थायी संरचनाहरूको मर्मत तथा व्यवस्थापनमै प्रदेश सरकारले करोडौं रकम खर्च गरिसकेको छ । गोदावरीमा पूर्वाधार निर्माणको काम अघि बढेमा यस क्षेत्रको व्यापार व्यवसायमा समेत वृद्धी हुने आसा गरेको यहाँका स्थानीय आठ वर्षसम्म पनि कामले कुनै गति नलिँदा निराश बनेका छन् ।

प्रदेशसभाको पहिलो कार्यकालमै राजधानी तोकिएको गोदावरी दोस्रो कार्यकालको समयसीमा सकिनै लाग्दा पनि राजधानी सञ्चालनको पर्खाइमा छ ।
गोदावरी २ का स्थानीय प्रकाश भट्ट भोगाधिकार नपाएको बाहना बनाएर स्थायी राजधानीका लागि संरचना तयार पार्न प्रदेश सरकार पन्छिरहेको बताउँछन् । बहुमत सदस्यले राजधानी तोकेको ठाउँमा आठ वर्ष बितिसक्दा सम्म संरचना बनाउनु त परको कुरा सामान्य बोर्ड समेत लगाउन नसक्नु दुखद भएको उनको भनाई छ । ‘गोदावरीमा यथाशिघ्र राजधानीका लागि भौतिक संरचना निर्माणको काम सुरु हुनुपर्छ, उनले भने, ‘भोगाधिकार नपाएको बाहना बनाएर प्रदेश सरकार पन्छिन मिल्दैन ।’

जय गोदावरी स्वतन्त्र अभियानका संयोजक धन बहादुर बोगटीले दुई तिहाइले घोषणा गरेको राजधानी चाँडो कार्यान्वयन हुनुपर्ने बताए । जनताबाट निर्वाचित भएर गएका प्रतिनिधिहरुले आफैले गरेको निर्णय समेत कार्यान्वयन गर्न नसक्नु लज्जास्पद भएको उनले बताए । ‘जनताबाट निर्वाचित भएर गएका प्रतिनिधिहरु आफैले राजधानी घोषणा गरेका हुन्, ‘तर आठ वर्ष बितिसक्दा समेत कार्यान्वयन गर्न नसक्नु लज्जास्पद विषय हो । जतिसक्दो छिटो गोदावरीमा राजधानी निर्माण हुनुपर्छ, उनले भने ।

यस वर्षदेखि राजधानी निर्माणको काम सुरु हुने आश्वासन आफूहरुले पाएको राजधानी तोक्न र नाम प्रस्ताव गर्न तत्कालीन समयमा गठित विशेष सुझाव समितिकी सदस्य एवं निवर्तमान प्रदेश सभा सदस्य चुनकुमारी चौधरीले बताइन् । ‘हामी पूर्व प्रदेश सभा सदस्यहरु राजधानी कार्यान्वयनको डेलिगेसन लगेर मुख्यमन्त्रीकहाँ गएका थिएउँ, उनले भनिन्, ‘उहाँ एकदमै सकरात्मक हुनुहुन्छ । यसै वर्षदेखि कार्यान्वयन हुन्छ भन्नुभएको छ ।’

जग्गा प्राप्ती गर्न सरकारले चासो नदेखाउँदा कार्यान्वयनमा ढिलाई भएको र अब त्यस समयमा परेका मुद्धा पनि खारेज भएकाले काम अघि बढ्नेमा आफू विशवस्त रहेको उनले बताइन् । भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकी देवी कुँवरले यसैवर्ष राजधानी निर्माणको काम सुरु हुने बताएकी छिन् । अब केहि दिनमै प्रदेश सरकारले बजेट ल्याउने र सो बजेटमा प्रदेश राजधानी निर्माणको विषय पनि समेटिने उनको भनाई छ ।

भौतिक पूर्वाधार विकास मन्त्री ओम विक्रम भाट सरलले पनि यसैवर्ष राजधानी निर्माण सुरु हुने दावी गर्दै आएका छन् । केहि दिनअघि पत्रकारहरुसंग गोदावरी राजधानीबारे कुरा गर्दै उनले राजधानी निर्माण यसैवर्ष सुरु हुने बताएका थिए । ‘सर्वोच्चमा परेका दुईवटा मुद्धा खारेज भएका छन्,यो पटक हामी प्रदेश राजधानी निर्माणको प्रक्रियामा अगाडि बढेका छौँ। त्यो यसपटकको बजेटमा समावेश हुन्छ, हामी बजेट विनियोजन गरेर कार्यान्वयन गर्छौँ’, उनले भने ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.