अत्तरिया:- कञ्चनपुरको कृष्णपुर नगरपालिकाले शिक्षाको पहुँच विस्तार तथा गुणस्तर सुधार गर्ने उद्देश्यले नगर क्षेत्रका ६ वटा सामुदायिक विद्यालयलाई विद्यार्थी बोक्ने बस हस्तान्तरण गरेको छ।
नगरपालिकाले आन्तरिक आय स्रोतबाट आर्थिक वर्ष २०८२/०८३ को बजेटमा विनियोजन गरी खरिद गरेका ६ वटा बस बुधबार एक कार्यक्रमका बीच सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरेको हो। नगरप्रमुख हेमराज ओझाले बस हस्तान्तरण गरेका हुन्।
नगरपालिकाले राष्ट्रिय माध्यमिक विद्यालय पहरिया, उदय माध्यमिक विद्यालय बंक, नन्द माध्यमिक विद्यालय देखतभुली, कृष्ण माध्यमिक विद्यालय गुलरिया, महाकाली माध्यमिक विद्यालय र वीणा माध्यमिक विद्यालय विचुवालाई एक–एक वटा बस उपलब्ध गराइएको छ।
नगरपालिकाले टेन्डर प्रक्रियामार्फत ५० सिट क्षमताका २०२६ मोडल तथा ३ हजार २०० सीसीका बस खरिद गरेको हो। प्रत्येक बसको लागत अनुमान करिब ५४ लाख रुपैयाँ रहे पनि प्रतिस्पर्धात्मक बिडिङ प्रक्रियाबाट करिब ४५ लाख ४५ हजार रुपैयाँमा खरिद सम्झौता भएको नगरप्रमुख ओझाले जानकारी दिए। बस सिपर्दी ट्रेडिङ प्रालिमार्फत खरिद गरिएको उनले बताए।
नगरप्रमुख ओझाले बस खरिद प्रक्रियामा टाटा, अशोक लेल्यान्ड र आइचर गरी तीन कम्पनी सहभागी भएका थिए। खरिद प्रक्रियामा केही ढिलाइ भएका कारण बस हस्तान्तरण गर्न समय लागेको उनले बताए। कार्यक्रममा बोल्दै नगरप्रमुख ओझाले विद्यालय देखि टाढा रहेका बस्तीका विद्यार्थीलाई आवतजावतमा सहजता ल्याउने उद्देश्यले बस उपलब्ध गराइएको बताए। प्रतिस्पर्धाको समय छ बालबालिकालाई टाढा रहेको विद्यालय जान समस्या हुने भएकाले बस किनेर विद्यालयलाई हस्तान्तरण गरेका हौँ ,यसले बालबालिकाको शैक्षिक गुणस्तरमा वृद्धि ल्याउने विश्वास लिएका छौँ, भनेर भने।
उनले विद्यालयले बस सञ्चालन गर्न सक्ने सुनिश्चितता गरेपछि मात्रै बस हस्तान्तरण गरिएको हो। विद्यालयको दूरी, विद्यार्थीको अवस्था तथा विशेषगरी साना बालबालिकालाई विद्यालय आवतजावतमा हुने कठिनाइलाई मध्यनजर गर्दै बस उपलब्ध गराउने योजना अघि बढाइएको उनले बताए। नगरप्रमुख ओझाले बस उपलब्ध गराउने योजनासँगै नगरपालिकाले शिक्षा क्षेत्र सुधारका अन्य कार्यक्रमलाई समेत प्राथमिकता दिएको बताए। उनका अनुसार विद्यालयमा तहगत आवश्यकताअनुसार प्रधानाध्यापक, शिक्षक तथा नगर शिक्षकको दरबन्दी मिलान गर्नुका साथै विद्यालयका लागि सूचना तथा सञ्चार प्रविधि (आईसीटी) सामग्रीसमेत खरिद गरी उपलब्ध गराइएको छ।
विद्यालयमा बस सञ्चालनमा आएपछि टाढाटाढाबाट विद्यालय आउने विद्यार्थीलाई आवतजावतमा सहज हुने तथा विद्यालयमा विद्यार्थीको नियमित उपस्थितिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ। विशेषगरी ग्रामीण तथा विद्यालयदेखि टाढा रहेका बस्तीका विद्यार्थीलाई यातायात सुविधा उपलब्ध गराउन बस व्यवस्थापन गरिएको नगरपालिकाको भनाइ छ।
बस हस्तान्तरण कार्यक्रममा नगरप्रमुख हेमराज ओझा, उपप्रमुख द्रोपती राना, विभिन्न वडाका वडाध्यक्ष, विद्यालयका प्रतिनिधि, शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।