अत्तरिया:- कैलालीको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीको बर्दियाको गुलरिया स्थित भूमि व्यवस्थापन कार्यालयमा सरुवा भएपछि बुधबार नगरपालिकामा भावुक वातावरण बीच बिदाइ गरिएको छ।
नगरपालिकाका जनप्रतिनिधि, शाखा प्रमुख तथा कर्मचारीहरूले बिनाडीलाई फूलमाला तथा मायाको चिनो प्रदान गर्दै आगामी जिम्मेवारीका लागि शुभकामना दिएका थिए।
बिदाइ कार्यक्रममा नगर प्रमुख वीरेन्द्र भट्ट, उपप्रमुख शारदा देवी रोकाया, शिक्षा शाखा प्रमुख तथा उपसचिव हरिश पन्त लगायतले प्र प्र अ बिनाडीले नगरपालिकाको प्रशासनिक सेवा प्रवाह, व्यवस्थापन र समन्वयमा पुर्याएको योगदानको प्रशंसा गरे। उनीहरूले नयाँ जिम्मेवारीमा थप सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरे।

बिनाडीले आफ्नो कार्यकालमा जनप्रतिनिधि, कर्मचारी तथा सहकर्मीबाट प्राप्त सहयोग र सहकार्यप्रति आभार व्यक्त गर्दै गोदावरीमा कार्यरत रहँदाका अनुभव र आत्मीय सम्बन्ध सधैँ स्मरणीय रहने बताए।
बिदाइ कार्यक्रमको सञ्चालन गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत शिवराज भाटले गरेका थिए।
