कृष्णपुरमा ‘विद्यार्थीसँग जनप्रतिनिधि तथा प्रहरी’ कार्यक्रम

अत्तरिया  : कञ्चनपुरको कृष्णपुर नगरपालिकामा विद्यार्थीका गुनासा, समस्या र चुनौती सम्बन्धित निकायसम्म सिधै पुर्‍याउने उद्देश्यले ‘विद्यार्थीसँग सामाजिक व्यक्तित्व’ कार्यक्रम सुरु गरिएको छ।

न्यू जेनेरेशन युथ क्लब र लगनशील बाल क्लबको आयोजनामा सुरु भएको कार्यक्रममा कृष्णपुर नगरपालिकाका मेयर, वडा अध्यक्ष, जनप्रतिनिधि तथा इलाका प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी अधिकारीहरूको सहभागिता रहेको छ।

कार्यक्रममा विद्यार्थीहरूले शिक्षा, सुरक्षा, सामाजिक समस्या तथा आफ्ना क्षेत्रका विभिन्न चुनौतीबारे जनप्रतिनिधि र प्रहरी अधिकारीसमक्ष प्रत्यक्ष रूपमा गुनासा तथा सुझाव राख्नेछन्। सम्बन्धित निकायका प्रतिनिधिले विद्यार्थीका समस्या सुन्ने र सम्भव भएसम्म समाधानका लागि पहल गर्ने आयोजकले जनाएको छ।

आयोजकका अनुसार विद्यार्थी तथा युवाका आवाज सम्बन्धित ठाउँसम्म सिधै पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। युवाहरू आफैं अघि बढेर आफ्ना समुदायका समस्या र चुनौतीबारे सम्बन्धित निकायसँग संवाद गर्न सके समाधान खोज्न सहज हुने आयोजकको विश्वास छ।

आयोजकले यो कार्यक्रमलाई हरेक महिना निरन्तरता दिने योजना बनाएको जनाएको छ। साथै, यस्ता कार्यक्रम अन्य स्थानमा पनि सञ्चालन हुन आवश्यक रहेको उनीहरूको भनाइ छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.