धनगढी : आन्तरिक वायुसेवा कम्पनीहरूले हवाई भाडा घटाउने घोषणा गरे पनि दसैँको मुखमा काठमाडौं–धनगढी रुटमा टिकट पाउन मुस्किल भएको छ । सरकारले भाडा घटाउन पहल गरे पनि यात्रुले भने समयमै टिकट नपाउने समस्या भोगिरहेका छन् ।
बिहीबार आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्न सहमत भएको खबर सार्वजनिक भएको थियो । प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेश) को सक्रियतापछि कम्पनीहरू भाडा घटाउन सहमत भएका थिए ।
तर, भाडा घटाउने सहमति सार्वजनिक हुँदासम्म आन्तरिक उडानको सबैभन्दा महँगोमध्येको काठमाडौं–धनगढी रुटमा दसैँका लागि टिकट पाउनै मुस्किल भइसकेको थियो ।
धनगढीका टेकेन्द्र देउवाका अनुसार दसैँसम्मका लागि काठमाडौं–धनगढी रुटका टिकट बुक भइसकेका छन् । “दसैँसम्मलाई काठमाडौं–धनगढी प्लेन टिकट छैन,” उनले भने, “बुक भइसकेको छ । अहिले भाडा घटाएर के फाइदा रु जो सरकारमा आए पनि प्रोएक्टिभ हुनै नसक्ने भए ।”
बुद्ध एयरले बिहीबार विज्ञप्ति जारी गर्दै काठमाडौं–धनगढी रुटमा १० हजार ८०० रुपैयाँमै टिकट उपलब्ध गराउँदै आएको जनाएको थियो । कम्पनीले तोकिएकोभन्दा बढी भाडामा टिकट बिक्री गरेको पाइए कडा कदम चाल्ने चेतावनीसमेत दिएको थियो ।
तर, दैनिक दुई उडान गर्दै आएको बुद्ध एयरको काठमाडौं–धनगढी रुटमा दसैँको टीकासम्मका टिकट बुक भइसकेका छन् । बुद्ध एयरका धनगढी व्यवस्थापक बुधराम चौधरीले पनि दसैँको टीकासम्मका लागि टिकट बुक भइसकेको जानकारी दिए ।
“रसुवा बाढीपछि छठ पर्वसम्मका लागि न्यूनतम भाडादर कायम गरेका थियौँ,” चौधरीले भने, “सोही कारण दसैँसम्मका टिकट बुक भइसकेका छन् ।”
यस्तै, काठमाडौं–धनगढी रुटमा दैनिक चार उडान गर्दै आएको श्री एयरलाइन्समा पनि टिकट पाउन सहज छैन । श्री एयरलाइन्सका धनगढी इन्चार्ज गजेन्द्र शाहीका अनुसार सोमबारसम्मका टिकट बुक भइसकेका छन् । मंगलबारदेखि भने केही सिट उपलब्ध रहेको उनले बताए ।
श्री एयरलाइन्सले सोमबारदेखि असोज १ गतेसम्म काठमाडौं–धनगढी रुटको भाडा १६ हजार रुपैयाँ निर्धारण गरेको थियो । असोज १ गतेदेखि भने भाडा घटाएर १० हजार ८०० रुपैयाँ कायम गरिएको शाहीले जानकारी दिए ।
सरकारको निर्देशनपछि वायुसेवा कम्पनीहरूले भाडा घटाउने प्रतिबद्धता जनाए पनि दसैँमा घर जाने यात्रुका लागि टिकटको उपलब्धता प्रमुख चुनौती बनेको छ । उडान संख्या सीमित हुनु र चाडपर्वका बेला यात्रुको चाप बढ्नुले भाडा घटाउने निर्णयको व्यावहारिक लाभ सबै यात्रुले तत्काल पाउने अवस्था देखिएको छैन ।