अत्तरिया बसपार्कमा अपाङ्गता भएका व्यक्तिहरु तथा ज्येष्ठ नागरिकका लागि यात्रु सहायता कक्ष स्थापना

अत्तरिया:- ‘अपाङ्गता भएका व्यक्तिहरूलाई दया माया होइन, अवसर चाहिन्छ’ भन्ने मूल सन्देश सहित कैलालीको अत्तरिया बसपार्कमा अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको छ।

नगरस्तरीय अपाङ्ग कार्य सञ्जालको आयोजनामा स्थापना गरिएको उक्त सहायता कक्षको उद्घाटन सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय, अत्तरियाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले गरेका हुन्।

नेपालीहरूको महान् चाड बडादसैँ, शुभदीपावली तथा छठ पर्वका अवसरमा अत्तरिया बसपार्कबाट विभिन्न जिल्लातर्फ प्रस्थान गर्ने सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकले भोग्नुपर्ने कठिनाइ न्यूनीकरण गर्नुका साथै उनीहरूको यात्रा सुरक्षित, सहज र सम्मान जनक बनाउने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको सुदूरपश्चिम समावेशी अपाङ्गता बिद्यालयका प्र अ मान बहादुर साउदले जानकारी दिए।

सहायता कक्षमार्फत यात्राका क्रममा आवश्यक सहयोग उपलब्ध गराउन तथा सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकको सहज पहुँच सुनिश्चित गर्न पहल गरिएको छ।

यसैबीच, यातायात व्यवस्थापन ऐन, २०४९ तथा अपाङ्गता अधिकारसम्बन्धी नियमावली, २०७७ मा भएका कानुनी व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न गराउन आयोजकले सम्बन्धित सबै सरोकारवाला निकायलाई आग्रह गरेको छ। सहायता कक्षको स्थापनाले अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकप्रति सम्मानजनक व्यवहार प्रवर्द्धन गर्नुका साथै सार्वजनिक यातायातलाई थप समावेशी, सहज र पहुँचयोग्य बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.