फुटवल खेल प्रशिक्षक विनाेद दर्लामी मगरले खोले अत्तरियामा लियोन स्पोर्टस् हाउस
खेलाडीलाई सुपथ मूल्यमा गुणस्तरीय सामग्री उपलब्ध गराउने लक्ष्य
अत्तरिया : कैलालीको अत्तरियामा खेलाडी तथा खेलप्रेमीलाई लक्षित गर्दै ‘लियोन स्पोर्ट्स हाउस’ सञ्चालनमा आएको छ। खेलाडीलाई सुपथ मूल्यमा गुणस्तरीय खेल सामग्री उपलब्ध गराउने उद्देश्यले स्पोर्ट्स हाउस सञ्चालनमा ल्याइएको हो।
आइतबार घटस्थापनाको शुभ अवसर पारेर सञ्चालनमा आएको स्पोर्ट्स हाउसको उद्घाटन इलाका प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हिरा सिंह महराले गरेका हुन्।
लियोन स्पोर्ट्स हाउसमा फुटबल, भलिबल, क्रिकेट लगायत विभिन्न खेलका सामग्री, जर्सी तथा ग्लोभ्स उपलब्ध गरिएका छन्। खेलाडीको आवश्यकता र मागअनुसार अन्य खेल सामग्रीसमेत उपलब्ध गराइने सञ्चालक विनोद दर्लामी मगरले जानकारी दिए।

सुदूरपश्चिम प्रदेशमा ग्रासरुट तहदेखि नै खेलकुदप्रतिको आकर्षण बढ्दै गएको अवस्थामा खेलाडीलाई गुणस्तरीय सामग्री सहज र सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले स्पोर्ट्स हाउस सञ्चालनमा ल्याइएको उनले बताए।

आफूले खेलकुद क्षेत्रमा सक्रिय रहँदा भोगेका अनुभव तथा विद्यार्थी र खेलाडीले खेल सामग्री खरिद गर्दा सामना गर्नुपरेका समस्यालाई ध्यानमा राखेर व्यवसाय सुरु गरेको दर्लामी मगरको भनाइ छ। बजारमा मूल्यअनुसार गुणस्तरीय सामग्री नपाउने तथा कतिपय सामग्री छोटो समयमै च्यातिने र बिग्रिने समस्या रहेको उल्लेख गर्दै उनले खेलाडीले गुणस्तरहीन सामग्रीका कारण दुःख भोग्न नपरोस् भन्ने उद्देश्य राखेको बताए।

खेलाडीको सहयात्री मनकारी प्रशिक्षक: विनोद दर्लामी
दर्लामी मगर विगत १५ वर्षदेखि फुटबल तथा खेलकुद क्षेत्रमा सक्रिय छन्। उनी लामो समयदेखि खेलाडी उत्पादन र प्रशिक्षणमा समेत संलग्न रहँदै आएका छन्। हाल उनले ६० भन्दा बढी खेलाडीलाई निःशुल्क फुटबल प्रशिक्षण दिँदै आएका छन्। खेलप्रति रुचि र प्रतिभा हुँदाहुँदै आर्थिक अभावका कारण आवश्यक सामग्री खरिद गर्न नसक्ने खेलाडीलाई उनले निःशुल्क खेल सामग्रीसमेत उपलब्ध गराउँदै आएका छन्। आर्थिक अवस्था कमजोर भएका प्रतिभाशाली खेलाडीलाई खेल क्षेत्रमा अघि बढ्न सहयोग पुगोस् भन्ने उद्देश्यले आफूले सक्दो सहयोग गर्दै आएको उनले बताए।
‘सी’ ग्रेडका फुटबल प्रशिक्षकसमेत रहेका दर्लामी मगरले खेल सामग्रीको सहज उपलब्धतासँगै प्रशिक्षणमार्फत स्थानीय स्तरमा फुटबलको विकास र प्रतिभावान् खेलाडी उत्पादनमा योगदान पुर्याउने लक्ष्य राखेका छन्।