कांग्रेस सुदूरपश्चिम सभापतिमा चारजना आकांक्षी

अत्तरिया  : नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमिति सभापति पदका लागि चारजनाले आकांक्षा देखाएका छन् । प्रदेश कार्यसमितिका महामन्त्री नरनारायण शाह (मनु), नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, कैलालीका कार्यवाहक सभापति भीमबहादुर बडुवाल र हिमबहादुर रावलले प्रदेश सभापति बन्ने इच्छा व्यक्त गरेका हुन् ।

प्रदेश कार्यसमितिका महामन्त्री शाहले आफू सभापति पदको आकांक्षी रहेको बताएका छन् । सुदूरपश्चिममा कांग्रेसलाई बलियो बनाउन आफूले सभापति पदमा दाबी गरेको उनको भनाइ छ । पार्टीले आवश्यक ठानेमा प्रदेश सभापतिको जिम्मेवारी लिन तयार रहेको उनले बाह्रखरीसँग बताए । यद्यपि, आफू पदका लागि मरिहत्ते नगर्ने उनले स्पष्ट पारे ।

कैलाली जिल्ला कार्यसमितिका कार्यवाहक सभापति भीमबहादुर बडुवालले आफू प्रदेश सभापतिका लागि बलियो उमेदवार भएको दाबी गरेका छन् । जिल्ला सभापतिको जिम्मेवारी नयाँ पुस्तालाई दिएर आफू प्रदेश सभापतिमा प्रतिस्पर्धा गर्ने उनको योजना छ । “जेनजी विद्रोह भयो । नयाँ साथीहरू पनि आउनुभएको छ । मैले जिल्लामै सीमित भएर बस्ने होइन, प्रदेश हाक्ने हो । मसँग त्यो क्षमता छ । म प्रदेश सभापतिका लागि बलियो उमेदवार हुँ,” बडुवालले भने । बडुवाल सुदूरपश्चिम तथा कांग्रेस राजनीतिमा विद्रोही नेताका रूपमा चिनिन्छन् ।

यस्तै, बैतडी स्थायी घर भएका चन्द पनि प्रदेश सभापति पदका आकांक्षी छन् । क्रिकेट क्षेत्रको विकासमा सक्रिय चन्दले प्रदेश सभापति बन्ने इच्छा व्यक्त गरेको कांग्रेस नेताहरूले बताएका छन् ।

कैलालीको लम्की स्थायी घर भएका रावल पनि सभापति पदका आकांक्षी हुन् । चारै आकांक्षीबीच सहमति जुटाउने प्रयासमा नेताहरू छन् । कांग्रेस केन्द्रीय कार्यसमितिले प्रदेश अधिवेशनको मिति सार्वजनिक गरेपछि उनीहरू औपचारिक छलफलमा जुट्ने तयारीमा छन् ।

सुदूरपश्चिम प्रदेश कांग्रेसका पूर्वसभापति वीरबहादुर बलायर हाल पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको समूहमा छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.