अत्तरिया : स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कैलालीको गोदावरी नगरपालिका–२, तेघरी स्थित पार्टनर प्यालेसमा आगामी मंसिर २ देखि ६ गतेसम्म पाँचदिने ‘स्वास्थ्य युवा महोत्सव’ आयोजना हुने भएको छ।
‘स्वस्थ युवा, स्वस्थ समाज, समृद्ध सुदूरपश्चिम’ भन्ने नारासहित आयोजना हुने महोत्सवमा स्वास्थ्य परीक्षण, विशेषज्ञ चिकित्सकसँग परामर्श, महिला तथा मानसिक स्वास्थ्य, पोषण, नसर्ने रोग र स्वस्थ जीवनशैलीसम्बन्धी कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ।
समृद्ध सुदूरपश्चिम अभियान र नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेश, जिल्ला तथा नगर चेम्बर अफ कमर्सको सहकार्यमा स्वास्थ्य महोत्सव आयोजना हुने लागेको हो।
महोत्सवमार्फत युवा, विद्यार्थी, महिला तथा सर्वसाधारणमा स्वास्थ्य सचेतना फैलाउने, रोग लाग्नुअघि नै सावधानी अपनाउने र नियमित स्वास्थ्य परीक्षण गर्ने बानीको विकास गर्ने लक्ष्य राखिएको छ।
आयोजकले गोदावरी, कृष्णपुर र गौरीगंगा नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्य संस्था, अस्पताल, हेल्थपोस्ट, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकालाई आ–आफ्नो क्षेत्रबाट प्रचारप्रसार गर्न आग्रह गरेको छ। साथै एकल महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बालबालिका तथा किशोरकिशोरीलाई महोत्सवमा सहभागी गराउन आवश्यक पहल गरिदिन समेत अनुरोध गरेको छ।