खाद्य कम्पनीद्वारा कैलालीमा २ हजार ७५ क्विन्टल धान खरिद

अत्तरिया  : सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रादेशिक कार्यालय धनगढीले कैलालीमा २ हजार ७५ दशमलव ३५ क्विन्टल धान खरिद गरेको छ।

मङ्सिर १ गतेबाट धान खरिद सुरु गरेको खाद्यले दुई दिनमा (बुधबार) सम्म जिल्लाका छ वटा खरिद केन्द्रबाट सो परिमाणको धान खरिद गरेको हो।

जिल्लाको मोहनपुरबाट ९४४.६५ क्विन्टल ,गौरीगंगाबाट २२४.८५ क्विन्टल ,जोशीपुरबाट ४.५० क्विन्टल, भजनीबाट १७१.४५ क्विन्टल, टीकापुरबाट ४२५.१३ क्विन्टल र सत्ती खरिद केन्द्रबाट ३०४.७७ क्विन्टल धान खरिद गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालयका प्रमुख दीपक थापाले जानकारी दिए ।

कम्पनीले जिल्लामा सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गरिरहेको कार्यालय प्रमुख थापाले जानकारी दिए ।

उनका अनुसार कम्पनीले जिल्लामा मोटा धान खरिद गरिरहेको र सरकारले यस वर्ष मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार ६ सय ६० निर्धारण गरेको छ ।

यस वर्ष कम्पनीले जिल्लामा धान खरिद कोटा ३० हजार क्विन्टल निर्धारण गरेको उनले बताए । धान बिक्रीका लागि किसानले परिचय खुल्ने कागजात, किसान प्रमाणित भएको वडाको सिफारिस, चेकको प्रतिलिपि ल्याउनुपर्ने कम्पनीले जनाएको उनले बताए ।

गत वर्ष कम्पनीले जिल्लामा ३५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकोमा लक्ष्यभन्दा बढी ३८ हजार नौ सय ३९ क्विन्टल धान गरिद गरेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.