सुदूरपश्चिमले उचाल्यो एनपीएलको उपाधि

अत्तरिया  : साविक विजेता लुम्बिनी लायन्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि उचालेको छ ।
शनिबार साँझ भएको फाइनलमा लुम्बिनीलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलो पटक एनपीएलको उपाधि जितेको हो । लगातार तेस्रो सिजन फाइनल खेलेको सुदूरपश्चिमले उपाधि जितेसँगै लगातार तेस्रो सिजन फरक टिमले एनपीएलको उपाधि जितेका छन् ।
पहिलो सिजनको फाइनलमा सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग ५ विकेटले पराजित भएको थियो । दोस्रो सिजन लुम्बिनीसँग नै ६ विकेटको हार व्यहोरेको थियो ।
तेस्रो सिजनको उद्घाटन र लिग चरणमा लुम्बिनीसँग पराजित भएको सुदूरपश्चिमले फाइनलमा उपाधि जित्दै त्यो हारको बदला समेत लिएको छ ।
सुदूरपश्चिमसँग पराजित भएपछि लुम्बिनीले भने लगातार दोस्रो पटक उपाधि जित्दै इतिहास बनाउने सुन्दर मौका गुमायो ।
सुदूरपश्चिमले फाइनल खेलमा ब्याटिङमा सुधारिएको प्रर्दशन गर्यो । लुम्बिनीले दिएको १ सय ५६ रनको लक्ष्य सुदूरपश्चिमले विना विकेटको क्षतिमा १३.३ ओभरमा भेट्टायो ।
पहिलो विकेटका लागि ओपनर जर्ज मुन्से र विनोद भण्डारीले १ सय ५८ रनको अविजित साझेदारी गरेपछि सुदूरपश्चिमले सहज जित निकालेको हो ।
मुन्सेले ५४ बलमा ८ चौका र १२ छक्का सहयोगमा १ सय २५ रनको अविजित पारी खेले । जारी एनपीएलमा बनेको यो सर्वाधिक व्यक्तीगत स्कोर हो ।
विनोद भण्डारीले २७ बलमा ३ चौका सहयोगमा ३० रनमा नटआउट रहे । फाइनल खेलमा ओपनर जर्ज मुन्सेले शतक पूरा गरे । उनले ४९ बलमा ८ चौका र ८ छक्का सहयोगमा शतक हाने । जारी एनपीएलमा शतक पूरा गर्ने मुन्से तेस्रो खेलाडी हुन् । यसअघि चितवनका कमिल मिसाराले काठमाडौ गोर्खाजविरुद्ध र पोखरा एभेन्जर्सका युवराज साम्राले कर्णालीविरुद्ध शतक हानेका थिए ।
समग्रमा एनपीएलमा यो छैटौँ शतक हो । त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५५ रनको योगफल तयार पारेको थियो ।
कप्तान रोहितले ३० रनमाथिको तिन वटा साझेदारी गरेपछि लुम्बिनीले प्रतिस्पर्धात्मक रन बनाउन सफल भयो । कप्तान रोहितले दोस्रो विकेटका डार्सी सर्टसँग ३० रन, तेस्रो विकेटका लागि निरोशन डिवेल्लासँग ३९ र चौथो विकेटका लागि दिलिप नाथसँग ३४ रनको साझेदारी गरे ।
कप्तान रोहित पौडेल ३१ बलमा २ चौका सहयोगमा ३० रन बनाउँदा रनआउट भए । निरोशन डिकवेल्लाले २८ रन बनाउँदा थरुन्दे रत्नायकेको बलमा बोल्डआउट भए ।
ओपनर डार्सी सर्ट १८ बलमा ४ चौका सहयोगमा २१ रन बनाउँदा दिपेन्द्रसिंह ऐरिको बलमा बोल्डआउट भए । सन्दीप जोराले ४ र आशिफ शेखले १ रन बनाउँदै पेभेलियन फर्के ।
छैटौँ विकेटका लागि दिलिप नाथ र अली शेखले ३३ रनको अविजित साझेदारी गरे । १२ बलमा २ चौका र २ छक्का सहयोगमा २४ रन बनाएका अली शेख हेमन्त धामीको बलमा क्याच आउट भए ।
दिलिप नाथ ३९ र रुवेन ट्रम्पलमेन ४ रनमा अविजित रहे । दिलिप नाथले ३१ बलमा ३ छक्का हाने । सुदूरपश्चिमका लागि स्कट कुल्गेजिनले २ विकेट लिए । हेमन्त धामी, थरिन्दु रत्नायके र दिपेन्द्र सिंह ऐरिले समान १ विकेट आफ्नो नाममा गरे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.