अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशबाट छनोट भएका खेलाडीलाई बधाई, सम्मान तथा सहयोग कार्यक्रम आयोजना गरिएको छ ।
गोदावरी नगरपालिका वडा नम्बर १० को कार्यालयले आज आईतबार खेलाडीलाई बधाई, सम्मान तथा सहयोग कार्यक्रमको आयोजना गरेको हो ।
प्रदेशबाट राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन गोदावरी नगरपालिकाबाट छनोट भएका खेलाडीको हौसला अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको वडा नम्बर १० का वडा अध्यक्ष रविन्द्र शाही (गुड्डु) ले बताएका छन् ।
उनले अनुशासित भएर खेल्न खेलाडीहरुलाई आग्रह गरे । प्रतियोगिताका लागि विभिन्न विधामा छनोट भएका गोदावरीका ६ जना खेलाडीहरुलाई शाहीले प्रती खेलाडी ५ हजार एक सय रुपैयाँ हस्तान्तरण गरेका छन् ।
उसु प्रतियोगितामा छनोट भएकी मनिषा राना क्षेत्रीले वडाको यस कार्यले आफूलाई थप हौसला मिलेको बताइन् । कार्यक्रममार्फत छनोट भएका खेलाडीलाई बधाई तथा सम्मान गर्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गरिएको छ । दसौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट ३० खेलमा ६ सय खेलाडी सहभागी हुने भएका छन् ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले प्रदेशस्तरीय छनोट प्रतियोगिता सञ्चालन गरी राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट गरेको हो ।
परिषद्ले सार्वजनिक गरेको छनोट सूचीअनुसार भलिबल, फुटबल, क्रिकेट, एथलेटिक्स, तेक्वान्दो, कराते, ब्याडमिन्टन, कुस्ती, कबड्डी, हक्की, बास्केटबल, खोखोलगायत ३० वटा खेलमा प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडी छनोट भएका छन् । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ मङ्सिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुँदैछ ।