कञ्चनपुर : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले विपद् जोखिम न्यूनीकरण र दिगो विकासका लागि वास्तविक पूर्वतयारी प्रत्येक व्यक्तिको घर, परिवार र समुदायबाटै सुरु हुनुपर्नेमा जोड दिएका छन। वेदकोट नगरपालिकाको आयोजना तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुरको व्यवस्थापकीय साझेदारीमा आयोजित ‘छैटौँ कञ्चनपुर सम्मेलनलाई सम्बोधन गर्दै उहाँले ठूला पूर्वाधार र नीतिगत योजनाको चर्चासँगै समुदायस्तरको सचेतना र पूर्वतयारी अपरिहार्य रहेको बताए ।
प्रत्येक वर्ष वर्षायाममा महाकाली, दोदा, बनरा, जोगबुढा लगायतका स्थानीय नदीनालाहरूले पुर्याउने क्षतिले जनजीवन, कृषि र पूर्वाधारलाई प्रभावित पार्दै आएको बताउँदै उनले भने, विपद् आइसकेपछि राहत र उद्धारमा मात्र केन्द्रित हुनुभन्दा विपद् आउनुअघि नै पूर्वतयारी गर्ने, पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने र समुदायलाई सक्षम बनाउने कार्य आजको प्रमुख आवश्यकता हो।
संघीयताको मर्मअनुसार नागरिकको सबैभन्दा नजिकको सरकार स्थानीय सरकार भएको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले सुरक्षित र उत्थानशील समुदाय निर्माणका लागि कञ्चनपुरका पालिकाहरूले थालेको सामूहिक प्रयास प्रदेशकै लागि अनुकरणीय रहेको बताए। विपद् व्यवस्थापन र जलवायु अनुकूलनका लक्ष्य हासिल गर्न प्रदेश सरकार स्थानीय तहहरूसँग हातेमालो गर्दै अघि बढ्न प्रतिबद्ध रहेको उनले स्पष्ट पारे। नीति, बजेट र प्राविधिक सहयोगमार्फत स्थानीय सरकारहरूको क्षमता अभिवृद्धि गर्न प्रदेश सरकार सधैँ साथमा रहने विश्वास दिलाउँदै उनले विकास निर्माणका कार्यहरूलाई वातावरणमैत्री र विपद्–प्रतिरोधी बनाउन तीनै तहका सरकार, विकास साझेदार संस्था र नागरिक समाजबीचको त्रिकोणात्मक सहकार्यमा जोड दिए।
वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहरा, जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको उक्त सम्मेलनले विगतका सिकाइहरूको समीक्षा गर्दै आगामी दिनका लागि ठोस कार्ययोजना तय गर्ने विश्वास मुख्यमन्त्रीले व्यक्त गरे।