अत्तरिया : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वप्रधानमन्त्री एवं पूर्वसभापति शेरबहादुर देउवा समूहले सञ्चालन गरिरहेको समानान्तर गतिविधिमा संलग्न हुने पार्टीका नेता तथा जनप्रतिनिधिलाई कारबाही गरिने चेतावनी दिएका छन् ।
एउटै पार्टीभित्र दुई महाधिवेशन हुन नसक्ने उनले स्पष्ट पारे । उनले पार्टीको आधिकारिक संरचनाबाहिर रहेर छुट्टै सांगठनिक गतिविधि सञ्चालन गर्ने कार्य स्वीकार्य नहुने बताएका हुन् ।
देउवा समूहले वडा, क्षेत्र, जिल्ला हुँदै प्रदेश अधिवेशनको प्रक्रिया अघि बढाएको छ । देउवा समूहले छुट्टै १५ औँ महाधिवेशन गर्ने तयारीलाई तीव्रता दिएको छ । देउवा समूहले पार्टीको आधिकारिकता आफूहरूकै पक्षमा आउने जिकिरसहित छुट्टै महाधिवेशनको तयारी गरिरहेको हो । पार्टीको चुनाव चिह्न र आधिकारिकता आफूहरूले पाउने समूहको भनाइ छ ।
मंगलबार (मंसिर ८) सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापाले पार्टी सदस्यता कायम राखेर अर्को दलको गतिविधिमा संलग्न हुन नमिल्नेमा जोड दिए । उनले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई देउवा समूहको समानान्तर महाधिवेशनमा सहभागी हुने विषयमा स्पष्ट निर्णय लिन आग्रह गरे ।
पार्टी सदस्यता त्यागेर अर्को राजनीतिक गतिविधिमा लाग्ने भए आफू निर्वाचित भएको पदबाट समेत राजीनामा दिनुपर्ने उनले बताए । “तपाईं राष्ट्रियसभामा हुनुहुन्छ, तपाईं प्रतिनिधिसभामा हुुनुहुन्छ, तपाईं प्रदेशसभामा हुनुहुन्छ, तपाईं स्थानीय तहको मेयर, उपमेयर, वडाध्यक्ष हुनुहुन्छ, म जान्दिनँ,” उनले भने, “हिजो राष्ट्रिय महाधिवेशनमा भाग लिनुभयो, लिनु भएन, मेरो बारेमा प्रेमका शब्द भन्नुभयो, आलोचना गर्नुभयो, केही फरक पर्दैन । तर, तपाईंले कांग्रेसको सदस्यता छाडेर अर्को कुनै पार्टीको सदस्यता लिन जानुभयो भने, अहिलेको पदबाट राजीनामा गर्नुहोला, जुन सभामा हुनुहुन्छ, राजीनामा गर्नुहोला ।”
थापाले देउवा समूहका अधिवेशन तथा समानान्तर गतिविधिमा सहभागी हुने कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिमाथि पार्टीको विधानानुसार कारबाही गरिने चेतावनी दिएका हुन् । उनले पार्टीका नेता–कार्यकर्तालाई आधिकारिक संरचनाभित्रै रहेर राजनीतिक गतिविधि गर्न आग्रह गरे । कांग्रेस सदस्यता कायम राख्ने वा नराख्ने विषयमा स्पष्ट हुनुपर्ने उनले बताए ।
उनले आफूले कुनै पनि नेतालाई पार्टीबाट निष्कासन गर्ने नभनेको पनि स्पष्ट पारे । “मैले नेता साथीहरूलाई पार्टीबाट निकाल्छु भनेकै होइन । नेपालको संविधानले पनि दिँदैन, पार्टीको विधानले दिँदैन । नेपालको कानुनले दिँदैन,” उनले भने, “एउटा व्यक्ति, राष्ट्रियसभाको सदस्य हुनुहुन्छ, उहाँ कांग्रेसको पनि सदस्य, अर्को कुनै पार्टीको सदस्य हुन पाउनु हुँदैन ।”
सभापति थापाले कांग्रेसको आधिकारिक संरचनाबाहिर हुने गतिविधिलाई पार्टीको महाधिवेशनका रूपमा स्वीकार गर्न नसकिने बताएका हुन् । उनले एउटै पार्टीका दुई अधिवेशन हुन नसक्ने उल्लेख गरे । पार्टीको नाम, झन्डा र चुनाव चिह्न प्रयोग गरेर छुट्टै सांगठनिक गतिविधि सञ्चालन गर्ने प्रवृत्तिप्रति कांग्रेस कठोर बन्ने उनले संकेत गरेका हुन् ।
चारतारे झन्डामुनि रहेका कुनै पनि नेता–कार्यकर्तालाई पार्टीबाट टाढा राख्ने आफ्नो उद्देश्य नरहेको पनि थापाले बताए । असन्तुष्ट पक्षका नेताहरूलाई समेत समेटेर अघि बढ्न आफू तयार रहेको उनले उल्लेख गरे । उनले पार्टी एकताका निम्ति संवाद र सहमतिको बाटो खुला रहेको स्पष्ट पारे । तर, पार्टीको विधान र आधिकारिक संरचनालाई चुनौती दिने गतिविधि स्वीकार गर्न नसकिने उनको भनाइ थियो ।
विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएको असन्तुष्टि समाधानका निम्ति विभिन्न चरणमा छलफल भइरहेको उनले जानकारी दिए । सहमति र सम्झौताको पनि सीमा हुने उनले बताए ।
देउवा समूहले यही मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ । समूहले सातै प्रदेशमा अधिवेशन गर्ने तयारी गरेको छ ।
देउवा समूहले पार्टीका तर्फबाट निर्वाचित पालिका प्रमुख तथा उपप्रमुख, प्रदेश सांसद, प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्यलाई स्वतः महाधिवेशन प्रतिनिधि बनाउने निर्णय समेत गरेको छ ।