अत्तरिया : फोहोरमैला व्यवस्थापनमा उदाहरणीय काम गर्दै आएको धनगढी उपमहानगरपालिकाले स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापनका लागि छुट्टै केन्द्र सञ्चालनमा ल्याएको छ ।
यसले अस्पताल तथा स्वास्थ्य संस्थाको जोखिमयुक्त फोहोरमैला व्यवस्थापनमा सहज हुने अपेक्षा गरिएको छ । धनगढी उपमहानगरपालिका–२, बैयाबेहडीमा स्थापना गरिएको स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्रको शुक्रबार औपचारिक उद्घाटन गरिएको हो । वडा नम्बर २ का अध्यक्ष धर्मराज ओझाले केन्द्रको उद्घाटन गरे ।
उपमहानगरले सोही ठाउँमा करिब साढे तीन वर्षदेखि फोहोरमैला सूक्ष्म वर्गीकरण केन्द्र सञ्चालन गर्दै आएको छ । जहाँ नगरका विभिन्न वडाबाट दैनिक रूपमा संकलित फोहोरमैलालाई पुनः प्रयोग गर्न मिल्ने र नमिल्ने तथा कुहिने र नकुहिने फोहोरलाई वर्गीकरण गरिन्छ । पुनः प्रयोग गर्न मिल्ने प्लास्टिक, कागज, गत्तालगायत फोहोर बिक्रीबाट उपमहानगरले वार्षिक ७५ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएको छ ।
वर्गीकरण केन्द्रसँगै जोडिएको जमिनमा करिब साढे दुई करोड रुपैयाँको लगानीमा स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र स्थापना गरेर सञ्चालनमा ल्याइएको उपमहानगरको वातावरण तथा सरसफाइ शाखाका प्रमुख अशोकराज अवस्थीले जानकारी दिए । मानिसमा संक्रमण सर्न सक्ने भएकाले स्वास्थ्यजन्य फोहोर व्यवस्थापन ठुलो समस्याका रूपमा रहँदै आएकोमा केन्द्र सञ्चालनमा आएसँगै अब सहज हुने उनले बताए ।
केन्द्रमा स्वास्थ्यजन्य फोहोरमैला प्रशोधन तथा निर्मलीकरण गर्न तीनवटा निर्मलीकरण मेसिन राखिएका छन् । त्यस्तै, अस्पताल र स्वास्थ्य संस्थाहरूबाट फोहोर संकलन गर्न गाडीको व्यवस्था गरिएको छ । उपमहानगरले निर्मलीकरणपछि पुनः प्रयोग गर्न मिल्ने फोहोरलाई बिक्री गर्ने लक्ष्यसमेत लिएको छ । पुनः प्रयोग गर्न नमिल्ने फोहोर पनि निर्मलीकरणपछि व्यवस्थापन गर्न सहज हुने अवस्थीले बताए ।
उनका अनुसार अस्पतालहरूले दिने स्वास्थ्यजन्य फोहोरको मात्राका आधारमा उपमहानगरलाई शुल्क तिर्नुपर्नेछ । फोहोरको प्रकारका आधारमा प्रतिकिलोको शुल्क निर्धारण गरिएको उपमहानगरले जनाएको छ । उपमहानगरले नगरमा जथाभावी फोहोर नफाल्न नागरिकलाई सचेत गराउनुका साथै फोहोर फालेको पाए जरिवानासमेत गराउने गरेको छ । विगतमा बजार क्षेत्रमा जताततै फोहोर देखिने गरेकोमा फोहोर फाल्न रोक लगाइएपछि अहिले बजार क्षेत्र सफा देखिने गरेको छ ।
स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र उद्घाटन कार्यक्रममा नगर प्रमुख गोपाल हमालले फोहोरमैला व्यवस्थापन नगरको प्रमुख दायित्व भएकाले यसलाई प्राथमिकतामा राखेर काम गरिएको बताए । उनले फोहोरमैला व्यवस्थापनमा धनगढीले उदाहरणीय काम गरेको दाबी गरे ।
उपमहानगरले सडक, पुलजस्ता पूर्वाधारका योजना नभई फोहोरमैला व्यवस्थापन, हरियाली प्रवद्र्धन, उज्यालो धनगढी तथा सामुदायिक विद्यालयको सुधारका योजनालाई नगर गौरवका योजनामा राखेर काम गरिरहेको हमालले बताए ।
उपमहानगरले फोहोरमैला संकलन गरी सूक्ष्म वर्गीकरण गर्दै आए पनि फोहोरमैला व्यवस्थापन केन्द्र नहुँदा पुनः प्रयोग गर्न नमिल्ने फोहोर व्यवस्थापनमा समस्या हुने गरेको छ । धनगढीको पटेलामा एक अर्ब रुपैयाँभन्दा बढी लागतमा आधुनिक फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको काम अहिले अन्तिम चरणमा पुगेको छ । यो केन्द्र सञ्चालनमा आए नगरको फोहोरमैला व्यवस्थापन गर्न थप सहज हुने नगरप्रमुख हमालले बताए ।