बालबालिकाका सवाल सम्बोधन गर्न प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री भट्ट

धनगढी  : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशका सबै बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, संरक्षण र सहभागिताको अधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन ।

‘मुख्यमन्त्रीसँग बालबालिका ः संवाद’ विशेष प्रश्नोत्तर तथा अन्तरक्रिया कार्यक्रममा बालबालिकासँग प्रत्यक्ष संवाद गर्दै मुख्यमन्त्री भट्टले बालबालिकाले उठाएका सवाल र समस्यालाई सरकारले गम्भीरतापूर्वक लिने बताएको हो ।

कार्यक्रममा बादी, दलित, राजी, अपाङ्गता भएका बालबालिका तथा तराई र पहाडी क्षेत्रका बालबालिकाले आफ्ना समुदाय र क्षेत्रमा भोग्दै आएका विभिन्न समस्या मुख्यमन्त्रीसमक्ष राखेका थिए।

बालबालिकाले पूर्ण खोप तथा नियमित स्वास्थ्य सेवाको अभाव, पोषणयुक्त खानाको कमी, जातीय विभेद, बालविवाह, बालश्रम, बाल यौन शोषण, लागूऔषध दुर्व्यसन, सुरक्षित खानेपानीको अभाव, अपाङ्गतामैत्री संरचनाको कमी तथा गुणस्तरीय र प्रविधिमैत्री शिक्षाको पहुँचजस्ता विषयमा जिज्ञासा राखेका थिए।

बालबालिकाले उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री भट्टले बालबालिकालाई केवल भविष्यका कर्णधारका रूपमा मात्र नभई वर्तमानका सचेत नागरिक र परिवर्तनका साझेदारका रूपमा स्वीकार गर्नुपर्ने बताए। उनीहरूको आवाज नीति निर्माण र विकासका काममा समेटिनुपर्ने उनको भनाइ थियो।

मुख्यमन्त्री भट्टले बादी, दलित, राजी तथा अन्य सीमान्तकृत समुदायका बालबालिकाले भोगिरहेका समस्या समाधानका लागि सम्बन्धित मन्त्रालय, स्थानीय तह र सरोकारवाला निकायसँग समन्वय गरिने बताउनुभयो। अपाङ्गता भएका बालबालिकाका लागि पहुँचयुक्त संरचना, सहायक प्रविधि र समावेशी शिक्षाको व्यवस्था गर्नसमेत आवश्यक पहल गरिने उनले उल्लेख गरे।

त्यसैगरी बालविवाह, बालश्रम, जातीय विभेद, बाल हिंसा तथा यौन शोषणजस्ता समस्या न्यूनीकरण गर्न सचेतना, प्रभावकारी अनुगमन र कानुन कार्यान्वयनमा जोड दिनुपर्ने उनको भनाइ थियो।
‘हामीले सडक, पुल र भवन निर्माणलाई मात्र विकास ठान्नु हुँदैन। बालबालिकाले पोषणयुक्त खाना खान पाउनु, गुणस्तरीय शिक्षा प्राप्त गर्नु, सुरक्षित वातावरणमा हुर्कन पाउनु, विभेदरहित समाजमा बाँच्न पाउनु र आफ्नो क्षमता प्रदर्शन गर्न पाउनु नै वास्तविक विकास हो,’ मुख्यमन्त्री भट्टले भने।

उनले बालबालिकाका समस्या र गुनासो सरकारसमक्ष पुर्‍याउने वातावरण निर्माण गर्नुका साथै उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
कार्यक्रमको उद्देश्य सुदूरपश्चिम प्रदेशका विभिन्न समुदाय, भूगोल र अवस्थाका बालबालिकाले भोगिरहेका समस्या पहिचान गरी उनीहरूको अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको भूमिका, नीति तथा कार्यक्रमबारे प्रत्यक्ष संवाद गरिएको थियो ।

सामुदायिक विकास केन्द्रले आयोजना गरेको उक्त कार्यक्रमले बालबालिकाका वास्तविक समस्या, आवश्यकता र अपेक्षालाई सरकारसमक्ष प्रस्तुत गर्ने अवसर प्रदान गरेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.