कांग्रेसलाई कसैको डर, धम्की र दबाबले रोक्न सक्दैन : शाह

अत्तरिया  : नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले पार्टीको अस्तित्व, सिद्धान्त र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षाका लागि जुनसुकै मूल्य चुकाउन तयार रहन कांग्रेसजनलाई आग्रह गरे।

आइतबार धनगढीमा नेपाली कांग्रेसको १५ औँ नियमित महाधिवेशनअन्तर्गत कैलाली जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेता शाहले कसैको डर, धम्की र दबाबबाट विचलित नभई पार्टीको अस्तित्व रक्षाका लागि दृढतापूर्वक उभिनुपर्ने बताएका हुन ।

गगनकुमार थापाले शेरबहादुर देउवाको नेतृत्वमा हुने पार्टी महाधिवेशनमा सहभागी हुने जनप्रतिनिधिलाई कारबाही गर्ने चेतावनी दिएको प्रसङ्गप्रति प्रतिवाद गर्दै शाहले नेपाली कांग्रेसले २००३ सालदेखि नै विभिन्न आरोह–अवरोह र चुनौतीहरू पार गर्दै आएको स्मरण गराए। उनले कांग्रेस कुनै पनि डर, धम्की र दबाबबाट त्रसित हुने पार्टी नभएको स्पष्ट पारे।

मुलुकको विकास, राजनीतिक स्थिरता र राष्ट्रिय एकताका लागि शेरबहादुर देउवाको नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै शाहले पार्टी र मुलुकलाई एकताबद्ध गर्दै समृद्धिको दिशामा अघि बढाउन देउवाको विकल्प नरहेको जिकिर गरे। देशलाई एकाकार बनाउन र राष्ट्रिय समृद्धिको यात्रालाई अगाडि बढाउन मुलुकले अझै पनि शेरबहादुर देउवाको नेतृत्व खोजिरहेको उनको भनाइ थियो।
कैलाली जिल्ला सभापति नारायणदत्त भट्टको अध्यक्षतामा सम्पन्न अधिवेशनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामजनम चौधरी प्रमुख अतिथि रहेका थिए ।्

कैलाली जिल्लाका १३ स्थानीय तह र पाँच निर्वाचन क्षेत्र समेटिएको अधिवेशनमा ३ हजार १६२ जना क्षेत्रीय प्रतिनिधिको सहभागिता रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.