Agni Offset Press

एमाले जिल्ला अधिवेशन : सुदूरपश्चिमका ९ वटै जिल्लामा आकांक्षीको दौडधुप

Aarati simant

धनगढी : नेकपा (एमाले) को शुक्रबार (२३ गते) जिल्ला अधिवेशन हुने भएको छ । जिल्ला अधिवेशनको समय नजिकीएसँगै सुदूरपश्चिमका ९ वटै जिल्लामा एमालेको चुनावी चहलपहल सुरु भएको छ ।

यतिबेला जिल्ला अध्यक्षका आकांक्षीहरु दौडधुपमा लागेका छन् । प्रदेशका ९ वटै जिल्लामा आकांक्षीहरुको संख्या धेरै भएकाले नेताहरुबीच बाक्लै अन्तरक्रिया र छलफल हुन थालेको छ । कैलाली जिल्लाको नेतृत्वका ३ जना आकांक्षी देखिएका छन् । कैलालीमा वर्तमान अध्यक्ष रतन थापा, उपाध्यक्ष रणबहादुर चन्द र नेता डेजी पाण्डेले इच्छा देखाएका छन् । एमालेको ९औँ महाधिवेशनमा उपाध्यक्षमा निर्वाचित थापा र सचिवमा निर्वाचित चन्दले एमाले विभाजनपछि अध्यक्ष र उपाध्यक्षको पद सम्हालिरहेका छन् । चन्दले पार्टीका नेता र कार्यकताको सुझाव अनुसार अध्यक्षको आकांक्षी रहेको बताए । उनले भने, ‘नेता र कार्यकर्ताले माग गरेकाले म अध्यक्षको आकांक्षी हो ।’

उता कञ्चनपुरको नेतृत्व छनोटका लागि पनि छलफल जारी छ । जिल्लामा एमालेका वर्तमान अध्यक्ष बीरबहादुर थापा र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट अध्यक्षमा आकांक्षी छन् । बीरबहादुर थापाले नेताहरुबीच छलफल जारी रहेको बताए । उनले भने, ‘बजारको हल्लाले हुँदैन । हामी छलफलमा छांै । कति जना भन्न सकिँदैन ।’

डडेल्धुरामा अध्यक्षका लागि वर्तमान अध्यक्ष प्रकाश साउँद, अमरगढी नगरपालिकाका मेयर विशेश्वरप्रसाद ओझा, राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष गजेन्द्र शाही र प्रदेश कमिटी सदस्य पदम पालले आकांक्षा देखाएका छन् । उनीहरुका बीचमा पनि सहमतिको प्रयास जारी रहेको एमाले नेताहरुको भनाई छ । बैतडीमा वर्तमान अध्यक्ष सुरेन्द्र पाल र पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्द अध्यक्ष पदमा आकांक्षी देखिएका छन् । पार्टीले सहमति गरेमा दार्चुलामा वर्तमान अध्यक्ष रामचन्द्र जोशी पुनः अध्यक्ष बन्ने दाउमा छन् ।

तर, उनीसँगै नौगाढ गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामी, एमाले प्रदेश कमिटी सदस्य मोहनसिंह धामी, वर्तमान उपाध्यक्ष उदयसिंह बडाल र ज्ञानेन्द्र घर्तीले पनि अध्यक्ष बन्ने चाहना बनाएका छन् । बाजुरामा कालीबहादुर शाही, भरत थापा, भरत बुढा र लालबहादुर ओली अध्यक्षका आकांक्षी छन् । त्यस्तै, अछाममा प्रकाश शाहले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनीसँगै अछाममा चन्द्र बोहरा र कृष्णप्रसाद जैशी पनि अध्यक्षका आकांक्षी छन् ।
बझाङ जिल्लामा बर्तमान जिल्ला संयोजक दमन भण्डारी, सुरतबहादुर सिंह, खड्कबहादुर खड्काले अध्यक्षमा दाबी गरेका छन् । डोटीमा भने नेतृत्वको आकांक्षीहरु अझै खुलेका छैनन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.