अत्तरिया : नेपाल कांग्रेसका युवा नेता भीम वडुवालले कैलाली जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । पटकपटक सर्दै आएको कैलाली कांग्रेसको अधिवेशन १५ माघका लागि तोकिएको छ । २७ पुसमा हुने भनिएको जिल्ला अधिवेशन राष्ट्रियसभाको निर्वाचनले गर्दा सार्नुपरेको कांग्रेसले जनाएको छ ।
बिहीबार धनगढीमा पत्रकार सम्मेलन गर्दै नेता वडुवालले यो बेला जित्नका लागि आफ्नो उम्मेदवारी रहेको बताए । ३० वर्षदेखि नेपाल विद्यार्थी संघमा राजनीति गर्दै आएका उनी कैलालीको २०७२ सालको अधिवेशनमा सभापतिमा पराजित भएका थिए । ‘जीवनको राजनीतिक उद्देश्य लोकतन्त्रको रक्षा र जनताको समृद्धि हो’, उनले भने, ‘यसैका लडाइको लागि मेरो उम्मेदवारी रहने छ ।’
उनले पार्टीका सम्पूर्ण नेतारकार्यकर्ताको भावनाअनुसार नै आफ्नो उम्मेदवारी रहेको पनि बताए । ‘कुनै गुटभन्दा पनि कैलालीमा रहेका २ हजार ५ सय ७२ जना क्रियाशील सदस्यहरूको भावनाअनुसार मेरो सभापतिमा उम्मेदवारी रहने छ’, वडुवालले भने, ‘मलाई कैलालीका वर्तमान, निवर्तमान सम्पूर्ण सभापतिको साथ रहने छ ।’ उनले आफ्नो मुख्य एजेण्डा जिल्लामा रहेका क्रियाशील सदस्यको स्वाभिमानको रक्षा गर्दै पार्टीलाई सबैको साझा बनाउने, गुटबन्दी मुक्त कांग्रेसको निमित्त ‘युवा जागरण अभियान’ रहेको बताए । त्यस्तै, उनले आगामी निर्वाचनमा पार्टीलाई दुईतिहाइ स्थानमा पुगाउने, पार्टीका कार्यकर्तालाई विकास निर्माणका एजेण्डामा लगाउने, हरेक जातजातिका बीचमा सद्भाव कायम गराउने, भातृ संगठनलाई क्रियाशील र चुस्त दुरुस्त बनाउने, पार्टी कार्यालय व्यवस्थित गरी रहेक कार्यकर्ताको गुनासोको समस्या समाधान गर्ने रहेको बताए ।
२०३५ सालमा कैलालीको पण्डौनमा जन्मेका वडुवाल राजनीतिशास्त्रमा स्नातकोत्तर र एलएलबीसमेत गरेका छन् । उनी २०४९ सालमा नेपाल विद्यार्थी संघ माध्यमिक तह ईकाई समतिको सचिव, २०५२ सालमा नेपाल विद्यार्थी संघ कैलाली क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति, २०५५ सालमा नेपाल विद्यार्थी संघ कैलालीको कोषाध्यक्ष, २०५९ सालमा नेपाल विद्यार्थी संघ कैलालीको सभापति, २०६० सालमा नेपाली कांग्रेस ९प्रजातान्त्रिक० केन्द्रीय समितिमा प्रचार समिति सदस्य, २०६५ सालमा नेपाल विद्यार्थी संघ केन्द्रीय समिति सह(महामन्त्री पदमा रहेका थिए । यस्तै, वडुवाल २०६७, २०७२ र २०७८ मा महासमिति सदस्य निर्वाचित भए । उनी २०६७ को कैलालीको अधिवेशनमा भने सचिव पदमा पराजित भएका थिए ।