अत्तरिया, २३ पुस : सुदूरपश्चिममा थप एक सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मा सो संख्यामा कोरोना संक्रमण देखिएको हो ।
भारतबाट फर्किनेको संख्या बढेसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमण दर पनि ह्वात्तै बढेको छ।स्वास्थ्य निर्देशनालयका अनुसार एक हजार ३८५ जनाको परीक्षण गर्दा एक सय एक जनाको एन्टिजेन र ५७ जनाको पीसीआर प्रविधिबाट परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।
शुक्रबार मात्रै भारबाट स्वदेश फर्केका ९७ जनामासंक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका ५७ र गड्डाचौकी नाका भएर स्वदेश फर्केका ४० जनामा संक्रमण पुष्टि भएको हो । बिहीवार एक २० जनामा कोरोना संक्रमण फेला परेको थियो ।
संक्रमण बढेपछि उच्च सतर्कता
सुदूरपश्चिम प्रदेशका जिल्लामा दिनहुँ कोरोना संक्र्रमितको संख्या बढ्दै गएपछि सतर्कता बढाएको छ । कैलालीको त्रिनगर नाका, बैतडीको झुलाघाट, दार्चुलाको पुलघाट, जौलजिवी, कञ्चनपुरको गड्डाचौकीबाट स्वदेश फर्किनेको क्रम बढेको छ । भारतमा दिल्ली, कर्नाटक, गुजरातलगायत सहरमा संक्रमण बढ्न थालेपछि काम छाडेर घर फर्किने नेपालीको संख्या पनि बढिरहेकाले यहाँ पनि ‘ओमिक्रोन’को उच्च जोखिम रहेको जनाइएको छ । सीमा नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको छ ।
सीमानाकामै हेल्थ डेस्क स्थापना गरी एन्टीजेन परीक्षणमार्फत परीक्षणको काम भइरहेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख ललितसिंह धामीले बताए । सुदूरपश्चिम प्रदेश उच्च जोखिममा रहेकाले भारतबाट आउनेको कोरोना परीक्षण र खोप लगाउने प्रबन्ध मिलाइएको छ ।
सीमानाकामा थप प्रभावकारी ढङ्गले स्वास्थ्य परीक्षण र होल्डिङ सेन्टरको प्रबन्ध गरिएको र विगतको भन्दा थप सबल व्यवस्थापनका लागि स्वास्थ्यको टोली खटाइएको छ । भारतसँग खुल्ला सीमा नाका भएका कारण संक्रमण नियन्त्रणमा केही चुनौती रहेको निर्देशनालयले जनाएको छ । विगतमा अवैध नाकाबाट भारतबाट मान्छे आउने गरेकाले जोखिम बढेकाले अब पनि अवैध नाकाबाट आउन नदिनु नै चुनौती हुने देखिएको छ ।