
अत्तरिया : सर्वसम्मत नेतृत्व चयन गर्न खोज्दा सुदूरपश्चिममा नेकपा एमालेको जिल्ला अधिवेशन लम्बिएको छ। बझाङ बाहेक सुदूरपश्चिमका ८ जिल्लामा शुक्रबारदेखि सुरु भएको अधिवेशन सोमबारसम्म पनि सम्पन्न भएको छैन।
आकांक्षीबीच सहमति नजुटेपछि केही ठाउँमा निर्वाचन प्रक्रिया पनि थालिएको छ र सँगसँगै सहमतिको प्रयास पनि जारी छ। तर, केही ठाउँमा भने अझै पनि निर्वाचन प्रक्रियामा नगइ सर्वसम्मत नेतृत्व छान्न नेताहरु सक्रिय छन्। सर्वसम्मत नेतृत्व छान्न नेकपा एमाले केन्द्र र प्रदेश कमिटीबाट तल्लो तहमा सर्कुलर जारी गरेको छ। सोही अनुसार सर्वसम्मतिमा नेतृत्व चयन गर्नका लागि नेताहरु सक्रिय भएका हुन्।
सर्वसम्मतिको लागि अन्तिमसम्म प्रयास भइरहेको एमाले सुदूरपश्चिम प्रदेश सचिव धर्मराज पाठकले बताए। ‘सहमतिबाटै नेतृत्व छान्ने प्रयासमा छौँ। त्यसका लागि आकांक्षीबीच सहमति खोज्न नेताहरु लागिपरेका छन्,’ उनका अनुसार कञ्चनपुर, दार्चुला, अछाममा निर्वाचन प्रक्रिया सुरु भएको छ। र, संग संगै सहमतिको प्रयास पनि भइरहेको छ। बाजुरा र डोटीमा सहमति प्रयास भइरहेकोले निर्वाचन प्रक्रिया भएको छैन।
प्रदेश राजधानी समेत रहेको कैलालीको अधिवेशन अन्तर्गत सोमबार मतदान जारी छ। नेकपा एमाले कैलालीको अध्यक्षमा वर्तमान अध्यक्ष रतन थापा र वर्तमान उपाध्यक्ष रणबहादुर चन्द प्यानल सहित चुनावी मैदानमा छन्। अधिवेशन सुरु भएका सुदूरपश्चिमका ८ जिल्लामध्ये डडेल्धुरा र बैतडीमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ। डडेल्धुरा प्रकाश साउद र बैतडीमा सुरेन्द्र पाल दोस्रो पटक अध्यक्षमा दोहोरिएका छन्।
बैतडी र डडेल्धुरामा पनि आकांक्षीबीच सहमति नजुटे पछि निर्वाचन प्रक्रिया थालिएको थियो तर पछि आकांक्षी पछाडि हटेपछि सर्वसम्मत अध्यक्ष छानिएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार एमाले जिल्ला अधिवेशन उद्घाटन गरेका थिए। बझाङमा भने हिमपातका कारण अझै अधिवेशन सुरु हुन सकेको छैन।
