बझाङ, ३ माघ : भूस्वर्गको उपमा पाएको पर्यटकीय स्थल खप्तडमा निर्माण भएका पूर्वाधारहरू संरक्षणको अभावमा अलपत्र परेका छन् ।
खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा निर्माण गरिएका पर्यटकीय पूर्वाधारहरू उचित संरक्षण नहुँदा अलपत्र परेका हुन् । निकुञ्ज कार्यालय र पर्यटन बोर्डले संरक्षणमा ध्यान नदिएपछि उक्त संरचनाहरू जीर्ण बन्दै गएका हुन् ।
खप्तड क्षेत्रको विकासका लागी बर्सेनि करोडौं बजेट विनियोजन हुने गरेको भए पनि निर्माण भएका पूर्वाधारहरूको संरक्षण नहुँदा अलपत्र अवस्थामा पुगेका छन् ।
भौतिक संरचना अहिले गाई, भैंसी तथा घोडाहरूको बास स्थानमा परिणत भएका छन् । खप्तड क्षेत्रमा निर्माण भएका पर्यटकीय गेस्ट हाउस प्रतीक्षालय, भ्यू टावर, शौचालय, धर्मशालाका साथै मन्दिरहरू संरक्षण नहुँदा केही संरचना भत्किएर काम नलाग्ने भएका छन् भने केही संरचना भत्कने अवस्थामा पुगेका छन् ।
पूर्वाधारको संरक्षणमा कसैको चासो पुगेको छैन । खप्तडको बीच टापुमा रहेको खप्तड बाबाको कुटीको पछाडि पट्टिको छाना जीर्ण अवस्थामा पुगेको छ । सामान्य पानी पर्दा पनि छाना चुहिने समस्या छ । खप्तडबाबाको कुटी हर्ने जानेहरूका लागि पनि यो संरचनाले गिज्याइ रहेको छ । साथै खप्तडबाबाले प्रयोग गर्ने शौचालय पनि लथालिंग अवस्थामा छ ।
खप्तड ब्यारेक तथा त्रिवेणी क्षेत्रमा बनेका झण्डै एक दर्जनभन्दा बढी पर्यटकीय आवास गृह तथा धर्मशाला भवनका टिनका छाना समेत हावाले उडाएरको छ । केही भवनका ढोका समेत खुल्लै छन् । ढोका नहुँदा गाई गोरुले धर्मशाला भवनभित्र नै दिशा पिसाब गरी फोहर बनाएका छन् । यसका साथै केही भवनका वालहरू समेत चर्केका छन् ।
खप्तड क्षेत्रमा पर्यटकहरूलाई थकाइ मेटाउन बनाइएका अधिकाशं प्रतिक्षालयहरूमा राखेका टिनका छानाहरू हावाले उडाएको देखिन्छ । केही प्रतिक्षालयहरू गाई भैंसीको विश्राम कक्षमा परिणत भएका छन् । खप्तडका पाटनमा रहेका अग्ला थुम्काहरूमा बनाइएका भ्यू टावरका काठले बनाएका बल्लीहरू समेत मक्किएका छन् । खप्तड क्षेत्रमा पर्यटकहरूका लागि बनाइएको साइनबोर्डका अक्षर तथा संकेत मेटिएका छन् ।
बर्सेनि खप्तडको विकासका लागी करोडौं बजेट विनियोजन हुने गरेको भए पनि आवश्यकता अनुसार भौतिक पूर्वाधार निर्माण हुन नसक्दा तथा भएका पूर्वाधारहरूको मर्मतसम्भार नहुँदा खप्तडको स्वरूप नै कुरूप भएको स्थानीयहरूको भनाइ छ ।
निर्माण भएका पूर्वाधारहरूलाई व्यवस्थित गर्न नसक्दा फेरि पूर्वाधारको विकासमा लगानी गर्नु ब्यर्थ भएको खप्तड छान्ना गाउँपालिका अध्यक्ष बर्क बहादुर रोकायाले बताए । अहिलेसम्म बनेका पूर्वाधारहरूलाई मात्र पनि व्यवस्थित बनाई संरक्षण सम्बद्र्धन मात्र गर्न सकेको खण्डमा यहाँ अरू भवन निर्माण बनाउन जरुरी नभएको अध्यक्ष रोकायाको भनाइ छ ।
खप्तड क्षेत्रको संरक्षणको लागि नेपाली सेनाको २१८ जना दरबन्दी रहेको गुल्म समेत छ । यसका साथै ७३ जना निकुञ्जका कर्मचारी दरबन्दी र खप्तड पर्यटन विकास समिति, मध्यवर्ती क्षेत्र संरक्षण समिति लगायत झण्डै ३ सयको हाराहारीमा कर्मचारी छन् । तर, यहाँको पूर्वाधारहरूको संरक्षणमा सबै निकायहरूले केही गरेको देखिँदैन ।
सम्बन्धित पाेस्टहरु