Agni Offset Press

वन क्षेत्रमा जेसीभी लगाएको भन्दै सडक निर्माणमा रोक

Aarati simant

कञ्चनपुर ; कञ्चनपुरको भीमदत्त नगरपालिका–९ चुरे क्षेत्र ताराकोटमा विपश्यना ध्यान केन्द्रका लागि शुरू गर्न लागिएको बाटो निर्माणमा मापदण्ड विपयिरत जेसिभी प्रयोग गरिएको भन्दै सडक निर्माणमा रोक लगाइएको छ ।

जिल्ला वन डिभिजन कार्यालय कञ्चनपुरले स्थानीयको दबाबपछि बाटो निर्माण रोकेको हो। ध्यान केन्द्र बनाउन ताराकोटमा जेसीभी लगाएर बाटो निर्माण शुरू गरिएको थियो । स्थानीयका अनुसार ताराकोटसम्म ४ सय मिटर बाटो निर्माण गरिएको छ ।

जिल्ला वन डिभिजन कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीले जेसीभी लगाएर बाटो निर्माण गरिएको जानकारी आएपछि रोकिएको बताए । स्थानीयले ध्यान केन्द्रका नाममा ताराकोटमा होटल रेस्टुराँ बनाउने नियत राखेर काम अघि बढाएको आशंका गरेका छन् । झिलमिला ताल नजिकको ताराकोट क्षेत्रबाट केही वर्षअघि मात्रै गोठ हटाइएका थिए । त्यसपछि त्यस क्षेत्रमा चुरे संरक्षण सञ्जाल र वन कार्यालयले वृक्षरोपण गरेका थिए । ताराकोटमा ध्यान केन्द्र बनाउन थालिएपछि प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे लगायतले वन कर्मचारीसहित ताराकोट क्षेत्र निरीक्षण समेत गरेका छन् ।

वन कार्यालयले बाटो निर्माण बन्द गरेकाले तत्काल प्रशासनले केही गर्न नसक्ने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । सबडिभिजन कार्यालयले प्रतिवेदन तयार गरी वन कार्यालयमा पेश गरी कारवाही प्रक्रिया अघि बढाएको उनले बताए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.