दार्चुला : दार्चुलाको छाङ्गरुमा शसस्त्र प्रहरी आगो तापेर ड्युटि गर्छन् । बिहिबार अत्यधिक हिउँ परेपछि छाङ्गरुमा तापक्रम माइन्स ३० डिग्रीमा झरेको छ । हिउँ गत वर्षको भन्दा दोब्बर बढि आएको छ । एक जना सुरक्षाकर्मीले भने । ‘यो पटक लास्टै गा¥हो छ । यहाँ खाना खान पनि उस्तै नखाउ उस्तै भएकोछ । शौचालय जान सकिदैन । पानी उस्तै चिसो, पानी पूरै बरफ बनेको छ । यो पीडा कसले बुझिदिन्छ । स्थानीय हुँदासम्म वाइफाइ नेट हुन्थ्यो, कम्तीमा घर परिवारको हालत सोध्न हुन्थ्यो, तर स्थानीय खलंगा झरेपछि नेट पनि बन्द गरेर गए अहिले सञ्चारविहिन बनेका छौं ।’
चिसो निकै बढेका कारण यहाँ मंसिरदेखि चैतसम्म सशस्त्र प्रहरीले रातदिन आगो तापेर ड्युटी गर्नुपर्ने छ । सशस्त्र प्रहरीसँग बस्नलाई आफ्नै भवन नहुँदा भाडाको भवनमा बस्दै आएका छन् । त्यहाँ विद्युत् छैन् । अत्यावश्यक कामका लागि जेनेरटेर बालेर उज्यालो बनाइन्छ । चिसोबाट बच्न आगो तापेरै बस्नुपरेको सुरक्षाकर्मीको गुनासो छ ।
‘चिसो छल्ने सहारा भनेकै यही आगो हो’, सशस्त्र प्रहरी भन्छन्, ‘आगो नभइदिएको भए माइन्स तापक्रम हुने क्षेत्रमा कसरी बस्न सकिन्छ ? रातभर ड्युटी गर्ने मान्छेले आगोमै बस्नुपर्छ । दिनमा पनि राम्रो घाम नलागे त्यही मुडा बालेर बस्ने गर्छाैं ।’
भारतले हरेक पोस्टमा हिटरको व्यवस्था गरेको छ । कोठा उस्तै न्यानो बनाइएको हुन्छ । अत्याधुनिक उपकरण जडान गरिएका छन् । जाडो छल्ने व्यवस्थाका लागि बाक्ला लुगा, जुत्ताको व्यवस्था गरेको छ । नेपालको सशस्त्र प्रहरीलाई जुत्ता, ज्याकेट, ट्रयाकसुट र सिल्पिङ ब्यागको व्यवस्था छ । तर, ५ देखि ६ फिटसम्म हिउँ जम्ने ठाउँका लागि लुगा पर्याप्त छैनन् । चिसो छल्न नसकिने अवस्था भएकै कारण रातदिन आगो तापेरै बस्नुपरेको सुरक्षाकर्मी बताउँछन् । अहिले पनि पूरै गुल्ममा खटिएको जनशक्ति आएको छैन । भवन अभाव छ । यस्तो जाडोमा कमै मात्र आउँछन्, ड्युटी गर्न ।’ दुईवर्ष अघि निर्माण सुरु गरिएको भवन अलपत्र छ । आफ्नै भवन भए पनि थोरै बस्न सहज हुन्थ्यो ।
०७७ असोज ९ गते तत्कालीन गृहमन्त्री रामबहादुर थापा नेतृत्वको टोलीले शिलान्यास गरेको सशस्त्र प्रहरीको पक्की भवन निर्माण अलपत्र हुँदा सुरक्षाकर्मीले जाडोमा सास्ती भोग्नुपरेको छ । अत्याधुनिक सुविधासहितको ४० कोठे भवन एक वर्षभित्र निर्माण सक्ने भनिएपनि भूइतलासमेत पूरा भएको छैन् । भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपाली भूभाग अतिक्रमण गरी वर्षभरि बस्न सक्ने गरी सैन्य अखडा स्थापित गरेको छ । भारतीय सुरक्षाकर्मी बस्न सुविधासम्पन्न भवन र चिसो छल्न मिल्ने गरी हिटरको व्यवस्था छ । तर, नेपालतिरका सुरक्षाकर्मी भने चिसो समय आगो तापेर ड्युटी गर्न बाध्य छन् ।
सम्बन्धित पाेस्टहरु