फागुन १ बाट विद्यालय खोल्न सीसीएमसीसीको सिफारिस
काठमाडौँ, २३ माघ : कोभिड सङ्कट व्यवस्थापन केन्द्रले सोमवारबाट निजी सवारी र ट्याक्सीमा कायम रहेको जोर बिजोर प्रणाली हटाउन गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।
केन्द्रको आइतवार बसेको बैठकले जोर बिजोर प्रणाली पूर्ण रूपमा हटाउन सिफारिस गरेको प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् । यसअघि काठमाण्डू उपत्यकाका तीन जिल्लामा अत्यावश्यक सेवा बाहेकका निजी सवारी साधन र सार्वजनिक ट्याक्सी दर्ता नम्बर अनुसार जोर वा बिजोर दिनमा मात्र चलाउन पाइने नियम थियो ।
कोभिड सङ्क्रमण बढ्दै गएपछि गत माघ सात गतेबाट काठमाण्डू उपत्यकाकामा सवारी साधनमा आलोपालो प्रणाली लागु गरिएको थियो । आगामी फागुन १ गतेबाट शैक्षिक संस्थाहरूमा भौतिक उपस्थिति सहितका कक्षाहरू सञ्चालन गर्न पनि केन्द्रले शिक्षा मन्त्रालयलाई सिफारिस गरेको छ ।
‘१२ वर्ष माथिका विद्यार्थीहरूले खोप लगाइसकेका छन्, उनीहरूको नियमित कक्षा लिने र त्यसभन्दा कम उमेरका विद्यार्थीको हकमा आलोपालो दिनमा कक्षा सञ्चालन गर्न सिफारिस गर्ने निर्णय भएको छ, प्रवक्ता नेपालले भनिन् ।
ओमिक्रोन भेरिअन्टको लहर बढेपछि सरकारले माघ ७ गतेबाट विश्वविद्यालय, विद्यालय सहितका शैक्षिक संस्थाहरूमा भौतिक कक्षाहरू बन्द गरेको थियो ।