कैलाली काँग्रेसले गर्यो १५ जनप्रतिनिधिलाई पदमुक्त गर्न निर्वाचन आयोगलाई सिफारिस

अत्तरिया : नेपाली काँग्रेस कैलालीले जिल्लाका तीन वडाध्यक्षसहित १५ जना जनप्रतिनिधिलाई पदमुक्त गर्न निर्वाचन आयोगलाई सिफारिस गरेको छ। १५ जना जनप्रतिनिधिले काँग्रेस त्यागेर अन्य राजनीतिक दलमा पार्टी प्रवेश गरेको भन्दै काँग्रेसले उनीहरुलाई पार्टीबाट पदमुक्त गरी जनप्रतिनिधि रहेको पद पनि खारेजीको माग गर्दै निर्वाचन आयोगलाई सिफारिस गरेको काँग्रेस कैलालीले जनाएको छ। उनीहरु काँग्रेसको साधारण सदस्य समेत नरहने बताइएको छ।

नेपाली काँग्रेस कैलाली, टीकापुर नगर कार्यसमितिको माघ १४ गतेको निर्णय, क्षेत्र नम्बर १ प्रदेश सभा ‘क’ कार्यसमितिको सिफारिस, क्षेत्र नम्बर १ क्षेत्रीय कार्यसमितिले माघ १८ गतेको सिफारिस पत्रअनुसार जिल्लाका कार्यवाहक सभापति प्रकाश बमले निर्वाचन आयोगमा सिफारिस पठाएका हुन्।

सिफारिस गरिएका जनप्रतिनिधिहरुमा टीकापुर नगरपालिका १ का वडाध्यक्ष लालवीर चौधरी, ३ का वडाध्यक्ष रामसेवक महतो र ५ का वडाध्यक्ष रामशंकर डगौरा थारु रहेका छन्। त्यस्तै, सोही नगरपालिकाका कार्यपालिका सदस्य रमेश बिक, वडा नम्बर ३ का वडा सदस्य बिना थारु, भागिदेवी कामी, वडा नम्बर ४ का सदस्य तुलसादेवी बिक, प्रेमलाल चौधरी, रुपमति डगौरा थारु, वडा नम्बर ५ का सदस्य बलबरि थारु (चौधरी), कन्हैया चौधरी, आशा थारु, सरिता भुल र वडा नम्बर ६ का वडा सदस्य रामशंकर चौधरी र जमूना चौधरी रहेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.