Agni Offset Press

हिउँदे वर्षाले कैलालीका इँटा उद्योग ठप्प, मजदुर समस्यामा

Aarati simant

अत्तरिया : कैलालीको जानकी गाउँपालिका–९ बोक्लहुवाका बाबुराम चौधरी इँटा उद्योगमा काम गर्छन् । तर, दुई महिनादेखि उनको काम ठप्प छ । हिउँदे वर्षाका कारण पुसबाटै इँटा बनाउने काम ठप्प भएको हो ।

गतवर्ष पनि इँटा उद्योगमा मजदुरी गरेका बाबुराम यो वर्ष परिवारसहित धनगढीको जयकाली इँटा उद्योगमा आए । तर, पुस महिनाबाटै काम ठप्प भएपछि उनी र श्रीमती कामविहीन छन् ।

लम्कीचुहा नगरपालिका– ३ बल्चौरका मंगल चौधरी पनि मजदुरीका लागि धनगढीको इँटा उद्योगमा आएका छन् । तर, दुई महिनादेखि उनको पनि काम ठप्प छ । हिउँदे वर्षाका कारण पुसबाटै इँटा बनाउने काम ठप्प भएको हो । ‘काम नभएपछि बसेरै दिन कट्दै छ,’ मंगल भन्छन्, ‘कामै नभए, हामी गरिबले परिवार कसरी पाल्ने ?’

अहिले इँटा उद्योगमै बसिरहेकाले छाक टार्न उनलाई समस्या नभए पनि ऋण भने थपिँदै गएको छ । मजदुरहरूलाई खानका लागि इँटा उद्योगबाटै ऋण मिलेको मंगल बताउँछन् । बाबुराम र मंगल प्रतिनिधि पात्र मात्रै हुन् । उनीहरू जस्तै कमाइको आश बोकेर मजदुरी गर्न इँटा उद्योगमा आएका मजदुर अहिले कामविहीन बनेका छन् । काम गर्ने ठाउँमा हिउँदे वर्षाले पानी भरिएपछि थुप्रै मजदुरहरू समस्यामा परेका छन् । मैदानमा श्रम गर्नुपर्ने मजदुर वर्षा भएपछि झुप्रोमा बसेर समय बिताउँदैछन् । कमाउनका लागि आएका आफूहरू काम ठप्प भएपछि उल्टै ऋणमा डुब्न थालेको उनीहरू बताउँछन् ।

सिजनमा इँटा उद्योगबाट एक मजदुरले दिनमा एकदेखि दुई हजार रुपैयाँसम्म कमाइ गर्ने गरेका छन् । उनीहरूलाई प्रतिइँटा उत्पादनवाफत एक रुपैयाँ मिल्छ । राम्ररी काम भएमा एक जनाले एक दिनमा एक हजारदेखि २ हजारसम्म इँटा उत्पादन गर्ने गर्दछन् ।

धेरै इँटा उद्योगमा धेरै जसो परिवारै आउने गर्दछन् । लहानी र उनका श्रीमान् पनि बालबच्चा बोकेरै इँटा उद्योगमा पसेका छन्, मजदुरी गर्न । तर, काम ठप्प हुँदा दुवै जना बेकामे भएर दिन गुजारिरहेका छन् । घाम लाग्ने र काम हुने आशैआशमा इँटा उद्योगमा बेकामे भएर बसेको उनले सुनाइन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.