स्वास्थ्य सुरक्षा अपनाएर आजबाट विद्यालय खुल्दै
अत्तरिया : सुदूरपश्चिम प्रदेशका कैलाली लगायतको जिल्लामा विद्यालय खुल्ने भएका छन् । कोरोना कहरका कारण एक महिना देखि बन्द रहेका विद्यालहरु आईतबार देखि खुल्ने भएका हुन् । कोरोना संक्रमण दर विस्तारै ओरालो लागेपछि विद्यालयहरु खोल्ने प्रशासनले निर्णय गरेको हो । प्रशासनले विद्यालय खोल्ने निर्णय गरेसंगै विद्यालयहरुले समेत आ–आफ्ना साईटहरुमा सुचना जारी गरेका छन् । यस अघि कोरोना संक्रमण जोखिमका कारण शैक्षिक संस्थाहरुले भर्चुअल पठनपाठन गरेका थिए । तर, विद्यार्थीहरुले भर्चुअल पठनपाठन भए पनि प्रभावकारी नभएको गुनासो गर्दै आएका छन् ।
विद्यालयहरु बन्द रहँदा धेरै विद्यार्थीहरु पढाईबाट बञ्चित समेत भएका थिए । निजि विद्यालयले अनलाईन बाट पढाई रहेको भए पनि सार्वजनिक विद्यालयहरुले भने पढाउन सकेका थिएनन् । विशेष गरी पहाडी जिल्लाका विद्यालहरु ठप्प रहेका थिए । गत बर्ष कोरोका कारण आन्तरिक मूल्यांकनबाट पास भएको विद्यार्थीहरु यस पाली पनि कतै त्यस्तै त हुने होइन की भन्ने चिन्तित थिए ।
कोरोना संक्रमण बढेपछि पुषको अन्तिम साता देखि विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । कैलाली जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र(डिसीसीएमसी) को बुधबार बसेको बैठकले विद्यालय खोल्ने निर्णय गरेको छ ।
केन्द्रले प्रमुख जिल्ला अध्यक्ष समक्ष विद्यालय खोल्न सिफारिस गरेको जिल्ला प्रसाशन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । ‘कोरोना कहर विस्तारै ओरालो लाग्दै गएपछि विद्यालयहरु खोल्ने निर्णय गरेको हो’, जोशीले भने । ‘विद्यालयहरु स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्नुपर्ने छ ।’
खोप नलगाएका १२ वर्षभन्दा मुनिका बालबालिकालाई भने अन्य विधिमार्फत अध्ययन अध्यापन गनाउन पाइने छ । सरकारले १२ देखि १८ बर्ष सम्मका विद्यार्थीहरुमा खोप अभियान समेत सुरु गरेको थियो ।
कोभिड महामारीको कारण देखाउँदै बन्द भएका स्कूलसँगै सिनेमा हलहरु १ फागुनवाट खुल्ला हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले १ फागुनवाट स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने अनुमति दिए लगत्तै सिनेमा हलहरु खुल्ला हुने भएका हुन । सिनेमा हल खुल्ला हुने बितिक्कै दक्षिण भारतीय चलचित्र पुष्पा र नेपाली चलचित्र चपली हाइट–३ लगायतका सिनेमा हलमा प्रदर्शन हुने छन् । विद्यालय, विश्वविद्यालयहरु, ट्युसन सेन्टरहरु सञ्चालनमा आउनेछन् । सरकारले जनस्वास्थ्यका मापदण्ड पालना गर्दै पठनपाठन गर्न भनेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ८३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८८२ पुगेको छ ।
शनिबार १ हजार ८२६ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर २६ हजार १०२ जना सक्रिय संक्रमित रहेका छन् । गत चौबीस घन्टामा ४ हजार २६० पीसीआर तथा २ हजार ३९४ एन्टिजेन परीक्षण भएको छ । विद्यालय खुलेसंगै सम्पूर्ण फेरि पहिलेको अवस्थामा बजार फर्किने विश्वास नागरिकहरुले गरेका छन् ।