
बैतडीमा एक महिलालाई रातभरि बन्धक बनाएर बलात्कार

बैतडी : बैतडीमा एक महिलालाई रातभरि बन्धक बनाएर बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।
जिल्लाको मेलौली नगरपालिकाकी ३० बर्षीया एक महिलामाथि मुख थुनेर रातभर बलात्कार भएको घटना सार्वजनिक भएको हो । मेलौली–१ का २६ बर्षीय करनसिंह नेगीले गत माघ २४ गते बलात्कार गरेको खुलेको छ ।
अपांगता भएकी चार बर्षीया छोरीको बाल पोषण भत्ता लिएर एनसिसी बैंकबाट घर फर्किने क्रममा बाँझो गोठमा रातभर बलात्कार गरिएको खुलेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।
उनको छाती, गाला र शरिरका विभिन्न भागमा स–साना घाउ भएका छन् । रातभरी बलात्कार गरेर बिहान ३ बजे छोडेर गएको र त्यसपछि मात्र आफूले लुगा लगाउन पाएको पीडीतले बताइन् । प्रहरीका अनुसार घटना घटेको झण्डै दुई साता भइसकेको छ । बलात्कारपछि महिलालाई ज्यान मार्ने धम्की पनि दिइएकाले ढिलो गरी घटना सार्वजनिक भएको हो । अहिले नेगीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
