देउता रिसाउने डरले महिनावारी हुँदा स्कुल जाँदैनन शिक्षिका
बाजुरा : बाजुरा बडिमालिका नगरपालिका ८ मा रहेको जनप्रकाश आधारभूत विद्यालय रतुडामा महिनावारी हुँदा शिक्षिका विद्यालय नजाने गरेको खुलेको छ । स्थानीयका अनुसार रतुडामा रहेको विद्यालय देउताको ओहोर –दोहोर गर्ने मुख्य बाटोमा रहेकाले महिनावारी भएको समयमा देवता रिसाउने भन्दै विद्यालय नजाने गरेको शिक्षिका नीरा बिष्ट बताइन् ।
कक्षा ३ सम्म सञ्चालनमा रहेको विद्यालयमा २ जना शिक्षिका र १ जना शिक्षक गरी ३ जना छन् । दुबैजना शिक्षिका महिनावारी हुँदा पाँच दिनसम्म विद्यालय जाँदैनन्। महिनामा दुईजना शिक्षिका दश दिन विद्यालय आउँदैनन् भने महिनावारीकै कारण वर्षमा १ सय २० दिन अनुपस्थित हुने गरेका छन् । शिक्षिका नियमित स्कुल नआएपछि बालबालिकाको पढाइै नै प्रभावित हुने गरेको गोरख बहादुर अयडीले बताए । शिक्षिका नीरा बिष्टले महिनावारी भएको समय विद्यालय अनुपस्थित हुने गरेको स्वीकार गरिन् ।
आफूलाई पनि डर लागेर नआउने गरेको नीराले बताइन् । बडिमालिका नगरपालिकाकी उपप्रमुख कबिता बिष्टले यो विषय विगतदेखि नै छलफलमा रहेकाले देवताका धामी पुजारी ,स्थानीय र महिला सबैलाई सामूहिकरुपमा राखेर यसको समाधान खोज्नु पर्ने उनले बताइन् । स्थानीय महिला तथा शिक्षिकाहरुले पनि आउने आँट नगरेको उपप्रमुख बिष्टले बताइन् । अब चाँडै सामूहिक छलफलका माध्यमबाट समस्याको समाधान गर्नतर्फ लाग्ने उपप्रमुख बिष्टले बताइन् । आइतबार बडिमालिका नगरपालिकाकी उपप्रमुखको संयोजगत्वमा अनुगमनका क्रममा महिनावारी भएको समयमा शिक्षिका विद्यालयमा अनुपस्थिति हुने गरेको पाइएको हो ।
फागुन २४ गते अन्तराष्ट्रिय नारी दिवसको दिन बडिमालिका नगरपालिका ८ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने उद्देश्यका साथ अनुगमा टोली गएको उपप्रमुख बिष्टले बताइन् । प्रत्येक वर्ष विभिन्न कार्यक्रम गरेर मनाउने गरेको भएपनि यो वर्ष नारी हिंसा, स्वास्थ्य र अन्धविश्वासका रुपमा रहेको छाउपडी प्रथा छाउगोठ मुक्त वडा घोषणसँगै अन्य कार्यक्रम मनाउने सोचका साथ काम थालिएको उपप्रमुख बिष्टले बताइन् ।
यो भन्दा पहिला बडिमालिका नगरपालिकाका ३, ४, ५, ६ र ९ वडा छाउगोठ मुक्त घोषण गरी सकेका छन, भने बाकी १, २, ७ र ८ घोषणको अन्त्तिम तयारीमा रहेको बिष्टले बताइन् ।