Agni Offset Press

एकै वडाका चार जनाको मृत्युले शोकमा डुब्यो पाटन

Aarati simant

बैतडी : टिपर दुर्घटनामा तीन कलिला विद्यार्थीसहित एकै वडाका चार जनाको मृत्यु भएपछि बैतडीको पाटन नगरपालिका शोकमा डुबेको छ।

जिल्ला प्रहरी कार्यालय (बैतडी) का अनुसार सोमबार बा ३ ख ४८७९ नम्बरको टिपर बैतडीको पाटन नगरपालिका–३ झालिमालीमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो। दुर्घटनामा एकै वडाका तीन जना कलिला बालक र एक जना वयस्क पुरुषको मृत्यु भएपछि नगरपालिका शोकमा डुबेको पाटन नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले बताए।

‘विद्यालयबाट घर फर्किरहेका ससाना विद्यार्थी दुर्घटनामा परेको दुःखद खबरले पूरै नगरपालिका शोकमा डुबेको छ’, उनले भने, ‘यो घटनाले हामी अत्यन्तै दुःखी भएका छौं। घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।’ सोमबार बिहान १० बजे विद्यालय गएर अपराह्न ४ बजे घर फर्किरहेका ७ जना विद्यार्थीमध्ये तीन जना कहिल्यै नफर्किने गरी अस्ताएका छन् भने कोही अस्पतालको शय्यामा जीवनमरणको दोसाँधमा छन्।

दुर्घटनामा पाटन नगरपालिका–३ गौरीशंकरस्थित सिगास माध्यमिक विद्यालयमा अध्ययनरत १२ वर्षीय ज्ञानु विष्ट र १७ वर्षीय ललित अवस्थी तथा स्थानीय ४५ वर्षीय जनकराज पन्तको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ९बैतडी० का प्रहरी निरीक्षक दर्शन खड्काले बताए।

यस्तै दुर्घटनामा गम्भीर घाइते भएका अर्का विद्यार्थी १२ वर्षीय राजेश प्रसाद पन्तको भने डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा अन्य ३ जना विद्यार्थी घाइते भएका छन्।

प्रहरीका अनुसार पाटन नगरपालिका–३ का १२ वर्षीय सुनिल भट्ट, १३ वर्षीय सुदिप पन्त र १२ वर्षीय अनिल विष्ट घाइते भएका हुन्। उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार जारी छ।

टिपर दुर्घटनामा मृत्यु तथा घाइते हुने सबै पाटन नगरपालिका वडा नम्बर ३ का हुन्। उनीहरू उक्त वडाअन्तर्गत जडाकोट, गुराली, बङडा र टुणीखान भन्ने ठाउँका बासिन्दा थिए।

दुर्घटनाले पाटन नगरपालिका वडा नम्बर ३ का यी बस्तीमा सन्नाटा छाएको छ। मृतक ललित, जनक र राजेश पाटन नगरपालिका–३ जडाकोटका हुन्।

जनक पाटन बजारमा पसल थाप्ने तयारीमा थिए। त्यही पसल ९खोका० बनाउन भनेर उनी टिपर लिएर पाटन गएका थिए। अपराह्न ४ बजे सिगास माध्यमिक विद्यालयमा पढाइ सकिएर बिदा हुँदै थियो। त्यसै क्रममा काठ टिपरमा लोड गर्न सहयोग हुन्छ भनेर उनले विद्यालयबाट आफ्ना गाउँका केही विद्यार्थीलाई पनि सँगै झालिमाली ल्याए। विद्यालयबाट झालिमाली करिब २ किलोमिटर पर्छ।

गाउँकै मानिसले भनेकाले सहयोग गर्न भन्दै जडाकोटका विद्यार्थी पनि टिपरमा जान राजी भए। यस क्रममा घर जान भनेर बुङडा, गुराली, टुणीखानका २०र२५ जना विद्यार्थी पनि टिपरमा चढेको प्रत्यक्षदर्शीलाई उधृत गर्दै पाटन नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष फणेन्द्र विष्ट बताउँछन्।

झालिमालीमा काठ लोड गर्न टिपर पछाडि सार्ने क्रममा दुर्घटना भएको हो। टिपर सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। काठ लोड गर्न मद्दत गर्न गएका तीन विद्यार्थीको मृत्यु भयो। ‘जडाकोटका विद्यार्थी काठ लोड गर्न सघाउन गएका थिए। दुर्घटनामा उनीहरूले ज्यान गुमाएका छन्’, वडाध्यक्ष विष्टले भने, ‘पसलका लागि काठ लगिरहेका जनक पनि बितेका छन्।’

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.