Agni Offset Press

घोडाघोडीकी उप–प्रमुख थापा, आसनग्रहण नगराएपछि आक्रोशित : आयोजकले माग्यो माफी

Aarati simant

धनगढी : राष्ट्रिय महिला आयोगले मंगलबार धनगढीमा समाजमा विद्यमान हानिकारक अभ्यासहरु विरुद्धको सुदूरपश्चिम केन्द्रित कार्यक्रम आयोजना गरेको थियो । आयोगले यस अघि गरेका कार्यक्रमको समीक्षा गदैँ आगामी बर्षमा कसरी जाने ? भन्ने विषयमा छलफल भएको थियो ।
कार्यक्रममा कैलालीको घोडाघोडी नगरपालिकाकी उप–प्रमुख प्रेमकुमारी थापाले सार्वजनिक कार्यक्रममा बोलाएर आफ्नो अपमान गरेको भन्दै आक्रोश ब्यक्त गरिन् । आफुलाई कार्यक्रममा बोलाएर आसन ग्रहण नगराएको भन्दै उनले आयोजक संस्थाप्रति कार्यक्रममै आक्रोश व्यक्त गरेकी हुन् । आयोगले मंगलबार धनगढीमा आयोजना गरेको कार्यक्रममा सबै जनप्रतिनिधि र अतिथिहरुलाई आसन ग्रहण गराइरहेका बेला आफुलाई मात्रै नगराएको प्रती उनले आक्रोश व्यक्त गरेकी हुन् । ‘कार्यक्रममा बोलाएर मेरो अपमान गर्ने ?’ उप प्रमुख थापाले आक्रोसित हुँदै भनिन् । ‘यो अपमान तपाइको पनि हो ।’ १३ वटै पालिकाका प्रमुख तथा उपप्रमुखलाई बोलाइरहदा मलाई मात्रै किन आसन ग्रहण गाराइएन ?’ थापाले प्रश्न गरिन् । उनले आफुलाई संसारभरी सबैले चिनी रहदा कार्यक्रममा बोलाएर पनि आसनग्रहण नगराएकोमा अपमानित महसुस भएको बताइन् ।
केही महिना अगाडि एउटा शिलालेखमा मेयरको मात्र नाम उल्लेख गरेर आफ्नो नाम उल्लेख नगरेको भन्दै प्रतिकारस्वरुप ढुंगा प्रहार गर्ने उपप्रमुख पनि मै हुँ भन्दै उनले त्यतिबेलादेखि सबैले चिनेको दाबी गरिन् । घोडाघोडी नगरपालिकाको वडा नम्बर ७ को भवन उद्घाटन गर्ने क्रममा उपमेयर थापाले शिलालेखमा ढुंगा प्रहार गरिरहेको भिडियो भाइरल बनेको थियो । उनले उक्त शिलालेखमा मेयर ममता चौधरी र वडा पदाधिकारीको मात्र नाम लेखेर आफ्नो नाम छुटाएको भन्दै शिलालेखमा ढुंगा प्रहार गरेकी थिइन् । कार्यक्रममा विभिन्न संघसंस्थाका कर्मचारी, बुद्धिजिवी, तथा कैलालीका १३ वटै पालिकाका प्रमुख तथा उपप्रमुखलाई बोलाइएको थियो ।
उद्घोषिकाले सबैलाई सम्बोधन गर्दै गर्दा उपप्रमुख थापालाई सम्बोधन गर्न बिर्सिएकी थिइन् । कार्यक्रममा आयोजकले चिन्न नसकेर मात्रै आसन ग्रहण गराउन नसकेको भन्दै माफी मागेको थियो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.