सुदूरपश्चिममा प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना
धनगढी : सुदूरपश्चिम प्रदेशमा पहिलो पटक प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रको स्थापना भएको छ । बुधबार सामाजिक विकास मन्त्रालयले कञ्चनपुरको भिमदत्त नगरपालिका–४ मा बुधबार केन्द्र कार्यालयको स्थापना गरेको हो ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले प्रवद्र्धन केन्द्रको कार्यालय उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा मन्त्री खड्काले प्रदेश सरकारले स्वास्थ्यलाई प्राथमिकताका साथ अगापठ बढाइरहेको कुरामा जोड दिए ।
प्रदेशको स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्ने सिलसिलामा प्रदेशस्तरको स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरिएको र स्वास्थ्य प्रर्वद्धन केन्द्रलाई विस्तार गरी जिल्ला र ८८ वटै पालिकासम्म पु¥याउने लक्ष्य रहेको मन्त्री खड्काले बताए । स्वास्थ्य शिक्षालाई जनस्तरसम्म पु¥याउन पहल गरेको सुदूरपश्चिम प्रदेश सरकारले स्वास्थ्य प्रवद्र्धनका लागि पहिलोपटक कञ्चनपुरको महेन्द्रनगरमा प्रदेशस्तरीय कार्यालय उद्घाटन गरेको छ । स्वास्थ्य प्रर्वद्धन केन्दको कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव रिता भण्डारी जोशीले जनताको स्वास्थ्य प्रवद्र्धन गर्न मन्त्रालय जमर्को गरेको, दैनिक दिनचर्या, जीवनस्तरका कारणले दीर्घ रोगका संख्या बढिरहेको जसका कारणले ब्यक्ति तथा राज्यलाई आर्थिक भार बढिरहेको बताइन् ।
उनले सबै उमेर समूहका नागरिकलाई सकारात्मक आहार–बिहार, मानसिक स्वास्थ्यको सहयोग, आरामदायी जीवनशैली परिवर्तनका लागि सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरिन् । स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा. जगरीश जोशीले जीवनशैली परिवर्तनका कारणले नसर्ने रोगहरुको जोखिम बढ्दै गइरहेको र उक्त केन्द्रले नसर्ने रोगबाट बच्न स्वस्थ्य खानपिन, शारिरिक ब्यायाम, स्वास्थ्य शिक्षाका कुराहरु अगाडि बढाउने बताए ।
नागरिकको स्वास्थ्य सुधारका लागि स्वास्थ्य प्रवर्द्धन आवश्यक रहेको जनतालाई स्वास्थ्य सम्बन्धी ज्ञान र आचरणले भरिपूर्ण बनाउन जनस्वास्थ्यका निति निर्माण गर्दा सबैको सहकार्य आवश्यक रहेको स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपालका पूर्व उपाध्यक्ष तथा प्राध्यापक शिवप्रसाद सापकोटाले बताए । त्यस्तै, प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र कञ्चनपुरका कार्यालय प्रमुख हेमराज खड्काले विश्व स्वास्थ्य संगठनको सन् १९८६ मा गरिएको ओटावा चार्टर र दिगो विकास लक्ष्य सन् २०३० को नीति अनुरुपका साथै नेपाल सरकार र प्रदेश सरकारका कानुन बमोजिम स्वास्थ्य प्रवर्द्धनका कार्य संचालन गरिने बताए ।