खेलकुद क्षेत्रलाई उद्योगको रूपमा विकास गर्नुपर्छ : खेलकुदमन्त्री गहतराज

 धनगढी : युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले खेलकुद क्षेत्रलाई उद्योगको रूपमा विकास गर्नुपर्ने बताएका छन् । नेपाल क्रिकेट संघको वार्षिक साधारण सभाको धनगढीमा उद्घाटन गर्दै शुक्रबार मन्त्री गहतराजले न्यून बजेट छुट्याउँदा पूर्वाधार र प्रतियोगितामा असर परेकाले अब खेलकुदलाई उद्योगको रूपमा विकास गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘राज्यले खेलकुदमा अत्यन्त न्यून बजेट छुट्याउँदा पूर्वाधार र प्रतियोगितामा असर परेको छ । त्यसैले अब खेलकुदलाई उद्योगको रूपमा विकास गर्नुपर्छ ।’

क्रिकेट क्षेत्रको विकासमा आम अपेक्षा पूरा गर्न संघ सफल हुने विश्वास व्यक्त गर्दै गहतराजले खेल क्षेत्रमा विगतमा राजनीतिकरण हुने प्रचलन बिस्तारै कम हुँदै गएको दाबी समेत गरे। नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेटलाई स्थापित गर्न संघले निकै ठूलो सङ्घर्ष गर्दै आइरहेको जिकिर गरे ।

 नेपाल टि–२० लिग सञ्चालन गर्दै क्रिकेटलाई व्यावसायिक बाटोमा अघि बढाउने उनले बताए ।  कार्यक्रममा सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष हरि रेग्मी, पूर्व उपाध्यक्ष एवम् सल्लाहकार नरेश श्रेष्ठ, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक बहादुर सिंह, युवा तथा खेलकुद मन्त्रालयका सचिव दामोदर रेग्मीले शुभकामना मन्तव्य दिएका थिए ।  नेपाल क्रिकेट संघका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.