सप्रोस नेपालद्वारा अत्तरियाको सुप समावेशी विद्यालयलाई दुहुनु गाई र कुखुरा सहयोग
अत्तरिया, १३ फागुन : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको सुदूरपश्चिम समावेशी सामुदायिक विद्यालयलाई दुहुनु गाई र कुखुरा सहयोग गरेको छ । विभिन्न क्षेत्रमा काम गदैँ आएको सप्रोस नेपालले सहयोग गरेको हो । विश्वखाद्य कार्यक्रमको आर्थिक सहयोगमा सप्रोस नेपालले फरक क्षमता भएका विद्यार्थीहरुको शारीरिक तथा बौद्धिक विकासका लागि विद्यालयमा पुगेर शुक्रबार विद्यालयका प्रधानाध्यापक देवी साउँदलाई हस्तान्तरण गरेको हो ।
विश्वखाद्य कार्यक्रमका सुदूरपश्चिम संयोजक रविन्द्र चन्द, गोदावरी नगरपालिका वडा एक का कार्यवाहक वडा अध्यक्ष कृत चन्द, गोदावरी नगरको शिक्षा शाखाका विष्णु अवस्थी र सप्रोस नेपाल कैलालीका संयोजक चन्द्रबहादुर सिंहले प्रअलाई संयुक्त रुपमा हस्तान्तण गरेका हुन् । सप्रोस नेपालले मूल्य श्रृङखला कार्यक्रम अन्र्तगत गोदावरीका १३ वटा विद्यालयमा भान्सा घर निर्माण देखि महिलाहरुलाई तालिम दिईरहेको छ ।
‘फरक क्षमता भएकाहरु अध्ययन गरीरहेको विद्यालयमा दुहुनु गाई, ४१ वटा कुखुरासंगै आहारा सहयोग गरेको छ’, सप्रोस नेपाल कैलालीका संयोजक चन्द्रबहादुर सिंहले भने । ‘कुखुरा राख्नका लागि टहरा निर्माणका लागि सामग्री सहयोग गरेको छ । थोरै भए पनि विद्यालयलाई सहयोग पुग्ने छ ।’ उक्त विद्यालयलाई विश्व खाद्य कार्यक्रममा कार्यरत रचना रसाईलीले व्यत्तिगत रुपमा मासिक १० हजार रुपैयाँ आर्थिक सयोग गर्ने गरेकी छन् । दुई बर्षका लागि उनले उक्त रकम दिने छन् ।