
दलित समुदायको गुनासोः गाई पाले दूध बिक्दैन, होटेल खोले ग्राहक आउँदैनन्

अत्तरिया : समाजमा व्याप्त जातीय विभेदका कारण दलित समुदायले रोजगारीका लागि भारतनै जानुपर्ने पर्ने बाध्यता रहेको गुनासो गरेका छन्।
आफ्नै ठाउँमा व्यवसाय सञ्चालन गर्दा व्यवसाय नचलेपछि बाध्यभएर रोजगारीका लागि भारत जानुपर्ने बाध्यता रहेको गोदावरी नगरपालिका-३ की राजुदेवी विकले बताइन्। ‘होटल सञ्चालन गरे दलितको होटल हो भन्दै कोही ग्राहक आउँदैनन्,’ उनले भनिन्, ‘गाईपाले कसैले दूध किन्दैनन्। जसले गर्दा यहाँका दलित समुदाय रोजगारीका लागि बाध्य भएर भारत गइरहेका छन्।’
गोदावरीस्थित अत्तरिया बजारमा धेरै युवाले होटेल सञ्चालन गरे पनि नचलेपछि उनीहरू भारत पलायन भएका छन्। गोदावरी नगरपालिका-११ का गणेश नेपालीले पनि आफ्नै ठाउँमा व्यवसाय गर्दा जातीय विभेदका कारण नचलेको गुनासो गरे। ‘गाउँमा होटल चलाएर गैर दलितले पानी समेत खाँदैनन्,’ उनले भने, ‘अत्तरिया बजारमा होटेल चलाएँ त्यहाँ पनि सबैले चिने दुई चार महिना पछि ग्राहक आउन छाडे, अनि पलायन भएको हुँ।’
गोदावरी नगरपालिका–७ का पदम विकले गाई फारम सञ्चालन गर्दा दूध नै नखपेको बताए। घरमै बसेर स्वरोजगार बन्ने उद्देश्यले एक वर्षअघि गाई पालन गरेको बताउँदै उनले दलितका हातको दूध भन्दै कसैले नकिनेपछि ठूलो नोक्सानी व्यहोर्नुपरेको गुनासो गरे।
‘सात लाख लगानी गरेर गाई फारम सञ्चालन गरे,’ उनले भने, ‘तर, दूध कसैले नकिनेपछि अहिले व्यवसाय बन्द गरेको छु। बैंकबाट लगेको ऋण तिर्न समस्या भइरहेको छ।’ सुरुसुरुमा बजारमा दूध विक्री भएको उनले बताए। ‘सुरुमा डेरी र होटेलमा दैनिक ३०–३५ लिटर दूध खपत भइरहेको थियो,’ उनले भने, ‘तर दलित हो भन्ने थाहा पाएपछि बिस्तारै सबैले दूध किन्न छाडे। दूधै नबिकेपछि व्यवसाय गर्न छाडिदिए।’
स्थानीय व्यापारीले त दलित होस्, त्यसैले दूध किन्दैनौं बन्ने गरेको उनको गुनासो छ। दलित समुदायको हो भन्ने थाहा पाएपछि व्यवसायीले विभिन्न बहाना बनाएर दूध किन्न छाडेको उनी बताउँछन्। ‘होटेलमा दलित समुदायका ग्राहक जाँदा कसैले नआऊ भन्दैनन्,’ उनले भने, ‘सबैले पैसा मात्रै हेर्ने गर्दछन्, तर दलित समुदायले सञ्चालन गरेको व्यवसायमा भने सबैले विभेद गर्दछन्। जसका कारण अहिले पनि दलित समुदाय पैसा कमाउन भारत पस्नुपर्ने बाध्यता रहेको छ।’
बर्दगोरिया गाउँपालिका(१ का कृष्ण नेपालीले पनि जातीय विभेदका कारण होटल व्यवसाय बन्द गरेको बताए। कैलालीको बौनिया बजारमा होटल सञ्चालन गरेका उनले ग्राहक नै नआएका कारण घाटा व्यहोरेर व्यवसाय छोडेको बताए। दलित समुदायलाई समाजमा हेर्ने दृष्टिमा फरक नआउँदा अझै थिचोमिचो सहनु परेको सामाजिक अभियन्ता विनोद घिमिरे बताउँछन्।
‘दलित समुदायले पालेका गाईभैँसी खरिद गरेर ब्राह्मण क्षेत्रीले त्यसकै दूध दुहेर खादा केही हुँदैन,’ उनले भने, ‘तर दलित परिवारले बजारमा दूध बिक्री गर्न लगे अशुद्ध हुन्छ, यस्तो रुढीवादी सोचका कारण हाम्रो समाज पछाडि परिरहेको छ।’ गलत कुरीतिका कारण गरिबलाई गुजारा चलाउन समेत मुस्किल हुन थालेको उनी बताउँछन्। जातीय विभेद गर्न पाइँदैन भन्दै ब्राह्मण क्षेत्रीले नारामात्रै लगाउने गरेको तर व्यवहार परिवर्तन भने हुन नसकेको उनी बताउँछन्। ‘बुढापाका मात्र नभई अहिलेका युवा वर्गमा पनि विभेदको भावना रहेको छ,’ उनले भने, ‘पहिलेका मानिस नजानेर विभेद गर्दथे भने अहिलेका युवा जानीजानी विभेद गरिरहेका छन्, यो झनै समस्या बन्न थालेको छ।’
जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ अनुसार कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, उत्पत्ति, जातजाति, वंश, समुदाय, पेसा वा व्यवसायका आधारमा छुवाछुत गर्न पाइँदैन यस्तो भेदभाव जन्य कार्य गरे कानुन बमोजिम दण्डनीय हुने व्यवस्था छ। जातीय रूपमा छुवाछुत गर्नेलाई २५ हजारदेखि रु एक लाखसम्म जरिवाना र एक महिनासम्म कैदको व्यवस्था समेत गरेको छ।
