काँग्रेस अधिवेशन : कैलालीमा त्रिपक्षीय प्रतिस्पर्धा
धनगढी, १४ फागुन : नेपाली काँग्रेस कैलालीको नयाँ नेतृत्व चयनका लागि त्रिपक्षिय प्रतिस्पर्धा हुने भएको छ । संस्थापन पक्षबाट दुई र इतर पक्षबाट एक प्यानल चुनावी मैदानमा उत्रिएका हुन् ।
जिल्ला अधिवेशअन्तर्गत शनिबार मनोनयन दर्ता भएकोमा जिल्ला सभापतिमा तीन जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । आइतबार बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान हुने कार्यक्रम रहेको छ ।
संस्थापन पक्षका नारायणदत्त भट्ट र प्रकाशबहादुर बम तथा इतर पक्षबाट रामबहादुर कलेलको उम्मेदवारी परेको छ । यस्तै जिल्ला सभापतिमा दाबी गर्दै आएका नेता भीम बडुवाल भने पछि हटेका छन् । उनले संस्थापन पक्षबाट सभापतिका उम्मेदवार नारायणदत्त भट्टको प्यानलबाट उपसभापतिमा उम्मदेवारी दिएका हुन् । उनको प्यानलाट उपसभापतिमा रामप्रशाद चौधरी, सचिवमा केशव मिश्र र अमृत बिसी, सहसचिवमा रामसमझ राना र कलेसु चौधरीले उम्मेदवारी दिएका छन् ।
यस्तै बम प्यानलबाट उपसभापतिमा खेमराज चौधरी र तेजशंकर भट्ट, सचिवमा नृप सुनार थर्क शाह, सहसचिवमा कृष्ण पाण्डेय र राजेन्द्र खड्काको उम्मेदवारी परेको छ ।
यस्तै इतर पक्षको कलेल प्यानलबाट उपसभापतिमा यज्ञनिधि कोइराला र लोकराज पाण्डेय ’आगो’, सचिवमा देवानन्द जैशी र नवराज जोशी, सहसचिवमा रविन्द्रप्रताप सिह र तीर्थराज जोशीको उम्मेदवारी परेको छ ।