काँग्रेस कैलाली अधिवेशन : आज मतदान हुँदै
अत्तरिया : नेपाली काँग्रेस कैलालीको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुदैछ। निर्वाचन समितिका अनुसार बिहान ११ बजेदेखि मतदान सुरू गर्ने तयारी छ। निर्वाचन कार्यतालिकाअनुसार ११ बजेदेखि मतदान सुरू गर्ने तयारीमा गरेको निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले जानकारी दिए । ६७ सदस्यीय जिल्ला समिति चयनका लागि निर्वाचन भइरहेको हो।
जिल्ला समिति चयनका लागि संस्थापन पक्षबाट दुई र कोइराला समुहबाट एक प्यानल चुनावी मैदानमा उत्रिएका छन्। संस्थापन पक्षका नारायणदत्त भट्ट र प्रकाशबहादुर बम तथा कोइरालाबाट रामबहादुर कलेलको सभापतिमा उम्मेदवारी परेको छ। भट्टको प्यानलबाट उपसभापतिमा भीम बडुवाल र रामप्रशाद चौधरी, सचिवमा केशव मिश्र र अमृत बिसी, सहसचिवमा रामसमझ राना र कलेसु चौधरीले उम्मेदवारी दिएका छन्।
यस्तै बम प्यानलबाट उपसभापतिमा खेमराज चौधरी र तेजशंकर भट्ट, सचिवमा नृप सुनार थर्क शाह, सहसचिवमा कृष्ण पाण्डेय र राजेन्द्र खड्काको उम्मेदवारी परेको छ। यस्तै कोइराला समुहको कलेल प्यानलबाट उपसभापतिमा यज्ञनिधि कोइराला र लोकराज पाण्डेय “आगो“, सचिवमा देवानन्द जैशी र नवराज जोशी, सहसचिवमा रविन्द्रप्रताप सिह र तीर्थराज जोशीको उम्मेदवारी परेको छ।
यस्तै नेपाली काँग्रेस कैलालीको मतदानस्थल सारिएको छ। काँग्रेस जिल्ला कार्यसमितिले ओम प्यालेसमा मतदानस्थल बनाउने निर्णय गरेकोमा निर्वाचन समितिले कवर्ड हलमा सारेको हो।