कांग्रेस भ्रातृ संस्थाको नेतृत्व फेरिँदै, नेविसंघ र तरुण दलमा उमेर हद, चर्चामा को–को ?
काठमाडौं : नेपाली कांग्रेसभित्र रिक्त रहेका भ्रातृ संस्थाहरुको तदर्थ समिति गठनको तयारी तीव्र छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नै नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल , नेपाल महिला संघ लगायतका १० भ्रातृ संस्थाको महाधिवेशन गर्न फागुन मसान्तभित्र तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो । सो निर्णय कार्यान्वयनका लागि सभापति शेरबहादुर देउवाले पदाधिकारीहरुलाई जिम्मेवारी दिएका छन् ।
जसअनुसार कांग्रेसका केही पदाधिकारीहरु भ्रातृ संस्थाहरुको तदर्थ समिति गठनको काममा अनौपचारीक ढंगले सक्रिय छन् । गत फागुन ३ गते कांग्रेसले म्याद सकिएका १० भ्रातृ संस्थाको केन्द्रीय समिति भंग गर्ने निर्णय गरेको थियो । जसमध्ये नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ मुख्य रहेका छन् ।
त्यस्तै नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज र नेपाल भूतपूर्व सैनिक संघ रहेका छन् । फागुन मसान्तभित्र ती सबै भ्रातृ संस्थामा कांग्रेसले तदर्थ समिति बनाउनेछ ।
नयाँ बन्ने समितिले तीनै तहको निर्वाचन सम्पन्न भएको मितिले ३ महिनाभित्र महाधिवेशन गराउनुपर्ने म्याण्डेट दिइनेछ । कांग्रेसले नेविसंघ र तरुण दलको तदर्थ समिति गठनमै उमेर हद लगाउँदैछ ।
कार्यसम्पादन समितिको निर्णयमा ‘नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको केन्द्रीय तदर्थ समिति विधानमा उल्लेखित उमेर हदको व्यवस्था अनुरुप गठन गर्ने निर्णय गरिएको’ उल्लेख छ । निर्णयमै प्रष्ट उल्लेख भएका कारण अब नेविसंघमा ३२ वर्षे र तरुण दलमा ४५ वर्षे उमेर हद लागु हुने स्पष्ट छ । यद्यपि संस्थापन पक्षका केही नेताहरु महाधिवेशन हुँदा उमेर हद लगाउनु स्वभाविक भएपनि तदर्थ समितिमा उमेर हद लगाउन नहुने पक्षमा छन् ।
‘महाधिवेशन हुँदा उमेर हद लाग्नसक्छ तर तदर्थ समितिमै उमेर हद लगाउदा लामो समयदेखि महाधिवेशन कुरेर बसेकाहरुमाथि अन्याय हुन्छ’,कांग्रेसका एक केन्द्रीय सदस्यले भने । कांग्रेस एक सहमहामन्त्री भने उमेर हद लागु गर्ने निर्णय भइसकेकोले पछि फर्कने अवस्था नरहेको बताउँछन् । ‘नेविसंघ र तरुण दलमा उमेर हद लागिसक्यो । अब फर्कदा ती संगठनमा फेरी भद्रगोल हुन्छ । निर्णय कार्यान्वयन गरेरै जानुपर्छ’, ती सहमहामन्त्रीले भने ।
नेविसंघ र तरुण दलमा नेतृत्व लिन नेताहरुको दौडधुप सुरु भइसकेको छ । उमेर हद लागेको अवस्थमा नेविसंघमा नेतृत्वका लागि दुजाङ शेर्पा, मनिषजंग थापा ,प्रेम शाही र मेगा शाहीको नाम चर्चामा छ । तरुण दल अध्यक्षका लागि निवर्तमान कोषाध्यक्ष विद्वान गुरुङ प्रबल दावेदार रहेका छन् । नेविसंघको राजनीतिमा सक्रिय भएर उमेर कटाएका केही नेताहरु तरुण दलको नेतृत्वमा आउन भने प्रयासरत छन् ।
महिला संघको अध्यक्षका लागि विजया केसी श्रेष्ठ, विनिता अधिकारी, हरिप्रभा खड्गी, उषा राउत लगायतको नाम चर्चामा छ । कार्यसम्पादन समितिले सभापति देउवालाई अन्य नेताहरुसँगको परामर्शमा तदर्थ समिति गठन गर्न म्याण्डेट दिएको छ । सोहीकारण मुख्य भ्रातृसंस्थाको नेतृत्वमा संस्थापन पक्षकै नेताहरुले भूमिका पाउने बताइन्छ ।