खप्तड गोल्डकप प्रतियोगिता : हिमालयन शेर्पा क्वाटरफाइनलमा
धनगढी : हिमालयन शेर्पा क्लबले सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । धनगढी रंगशालामा शनिबार भएको खेलमा नव जन जागृति युवा क्लबलाई ४–० ले हराउँदै हिमालयनले विजयी सुरुआत गरेको हो ।
जितसँगै हिमालयन क्वाटरफाइनलमा प्रवेश गरेको छ । हिमालयनले क्वाटरफाइनलमा आयोजक सुदुरपश्चिम–११ विरुद्ध खेल्नेछ । एकतर्फी खेलमा हिमालयनले ३० औं मिनेटमा विकास मेराग्लियाको गोलबाट अग्रता बनाएको थियो । उनले डेब्यु खेलमै हिमालयनका लागि गोल गरेका हुन् ।
इटालीमा व्यावसायिक फुटबल खेल्दै आएका नेपाली मुलका विकासले च्यासल युथ क्लबबाट ए डिभिजन लिग खेलेका थिए । मोफसलका लागि उनी हिमालयनमा आबद्द भएका हुन् ।
खेलको ४१ औं मिनेटमा उल्रिच सिवेले गोल गर्दै हिमालयनलाई २–० को अग्रता दिलाए । ५७ औं मिनेटमा उल्रिचले व्यक्तिगत दोस्रो गोल गरेपछि हिमालयन ३–० ले अघि रह्यो ।
त्यसपछि खेलको ८१ औं मिनेटमा पूर्ण बहादुर गुरुङले गोल गर्दै हिमालयनलाई ४–० को जित दिलाए । आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा टिकट दर राखिएको छ । जसमा विद्यार्थीका लागि १ सय र अन्यका लागि १ सय ५० राखिएको छ ।