साँफेबगरमा फोहोर व्यवस्थापनमा अलमल
अछाम : साँफेबगर अछामको मुख्य व्यापारिक केन्द्र हो। राष्ट्रकै नमुना नगर बनाउने परिकल्पनाका साथ ‘सुन्दर र समृद्ध साँफेबगर बनाऔं’ नारा तय गरिएको छ। साँफेबगर नगरपालिकामा जनप्रतिनिधि आइसकेपछि परिकल्पना गरिएको नारा हो यो। साँफेबगर नगरपालिकाको वडा नम्बर २ र ४ मा बजार क्षेत्र छ। अहिले साँफेबगर फोहोरका कारण कुरुप हुँदैछ। बीच बजारमा राखिएका निमार्ण सामग्रीहरू र जथाभावी गाडी पार्किङले झनै अव्यवस्थित देखिन थालेको छ। असरल्ल फालिएका प्लास्टिक र मदिराका बोतलहरूले साँफेबगरको सौन्दर्यतामा नै ह्रास आउन थालेको छ।
जनप्रतिनिधि आइसकेपछि फोहोर व्यवस्थापन लामो समयदेखि बहस र छलफलको विषय बन्दै आएको छ। तर, पाँच वर्ष पूरा हुँदासमेत यो अझै किनारा लाग्न सकेको छैन। साँफेबगर बजारबाट अहिले दैनिक १.७५ टन फोहोर निष्कासन हुन्छ। जीआईजेडले बजारमा गरेको नमुना फोहोर संकलन सर्वेक्षणको तथ्यांक १७ सय ५० किलो फोहोर दैनिक निष्कासन हुन्छ।
बजार क्षेत्रमा करिब ८ सय घरधुरी छन्। त्यहाँका ५ हजार जनसंख्या र करिब २ हजार आगन्तुक गरी ७ हजारको हाराहारीमा मानिसहरू दैनिक फोहोर निष्कासनमा सरिक हुने गरेको पाइएको छ। कुल घरधुरीमध्ये औसत ८० प्रतिशतले व्यापार व्यवसाय गर्छन्। उनीहरूबाटै आधा किलोदेखि ३० किलोसम्म दैनिक फोहोरजन्य पदार्थको निस्काशन हुने तथ्यांकले देखाएको छ। निस्कासित फोहोरमध्ये करिब ७० प्रतिशत अर्थात १ टन फोहोर अजैबिक (नस्ट नहुने) रहेको अनुमान छ। अजैबिक फोहोरमध्ये ५० प्रतिशत कार्टुन, कागज, प्याकेजिङ, ३० प्रतिशत सिसा, १० प्रतिशत प्लास्टिक र बाँकी १० प्रतिशत अन्य फोहोर रहेको प्रतिवेदनमा उल्लेख छ।
निष्कासित फोहोरमा ३० प्रतिशत अर्थात् ०.७५ टन जैबिक फोहोर रहेको छ। अजैबिकमध्ये २० प्रतिशत बाल्ने, ३० प्रतिशत खोलामा फाल्ने र बाँकी ५० प्रतिशत नगरपालिकाले उठाउने गरेको छ। संकलित फोहोर छिपेखोलाको किनारमा पुर्ने र जलाउने काम भइरहेको छ।
साँफेबगरबासीले अहिले फोहोर फाल्ने विकल्पको रुपमा छिपेखोला, प्रभाली खोला र बूढीगंगा नदीलाई बनाएका छन्। नगरपालिकाले पनि संकलन गरेको फोहोर छिपेखोलामै पुर्ने र जलाउने गरेको छ। साँफेबगर नगरपालिकाकाको नवौं कार्यपालिकाको बैठकले फोहोरमैला व्यवस्थापन ऐन २०७८ निर्माण गरेको छ। उक्त ऐनले पालिकाले तोकेको भन्दा अन्य ठाउँमा जथाभाबी फोहोर गरेमा र ऐनविपरीत कार्य गर्नेलाई एक हजारदेखि ५० हजारसम्म जरिवानाको व्यवस्था गरेको छ।
नगरपालिकाकाले अहिले फोहोर फाल्ने ठाउँ डम्पिङ साइट घुघुरकोटमा निर्माण गर्दैछ। डम्पिङसाइट निमार्णपछि केही हदसम्म फोहोर व्यवस्थापनमा सहज हुने नगरप्रमुख कुलबहादुर कुँवरले बताए। फोहोर वर्गीकरण गर्न सके मात्र पनि फोहोर व्यवस्थापनमा सहज हुने साँफेबगर–३ का वडाध्यक्ष कृष्णबहादुर बुढाले बताए। जैबिक (नस्ट हुने) अजैबिक (नस्ट नहुने) फोहोर र हानिकारक फोहोर अलग–अलग गर्न सके मात्र पनि फोहोर व्यवस्थापनमा देखिएका असहजता कम हुने बुढाले बताए।
सरसफाइ गर्नेलाई छैन पारिश्रमिक कला आउजी विगत २० वर्षदेखि साँफेबजार सरसफाइ गर्दै आइरहेकी छन्। दैनिक बिहान बजार सफा गर्ने कलालाई प्रत्येक पसलबाट व्यापारीले चाहेअनुसारको पैसा दिन्छन्। उनले प्रत्येक पसलबाट ५० देखि एक सय रुपैयाँ माग्ने गर्छिन्। कलालाई नगरपालिका र वडाले पारिश्रमिकको व्यवस्था गर्न सकेको छैन। श्रीमान् र छोराको मृत्युपछि ५ जना परिवारको पालनपोषण गर्ने जिम्मेवारी कलाको काँधमा छ। साँफेबगरलाई सरसफाई राख्न योगदान गर्ने कला आउजी र रनी आउजीलाई नगरपालिकाले सम्मान गर्ने भएको छ। कलालाई २५ हजार र रनी आउजीलाई १५ हजार नगद सहित सम्मान गर्ने भएको नगर प्रमुखले बताए।